
काठमाण्डू, १८ जेठ– राजसंस्था र हिन्दू राज्यसहितका माग राखेर गत १५ जेठ यता काठमाण्डूमा प्रदर्शनमा उत्रिएका राजावादीहरूले धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित पाँच जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
थापा पक्राउ परेलगत्तै आन्दोलनमा सहभागीहरूले धर्ना सुरु गरेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो ।
उनले भने, ‘हामीले धर्ना सुरु गरेका छौं । तत्काल रिहा नहुने हो भने हामी आन्दोलन थप चर्को बनाउँछौं ।’ उता, प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए ।
राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर भइरहेको प्रदर्शन हिजो बालुवाटार नजिकै पुगेको थियो । आज पनि नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाँदै थियो । सो क्रममा राजावादीहरू उग्र हुँदै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ ।