बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापासहित ५ जना नियन्त्रणमाः प्रहरी

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १५:४४ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले जनाएको छ ।

नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपील राज बोहराले जानकारी दिएका छन ।

उनका अनुसार, पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकाली ल्याइँदैछ । गत १५ जेठबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए ।

राजसंस्था पुनस्थापना र हिन्दु राज्यसहितको माग राखेर भइरहेको प्रदर्शन हिजो बालुवाटार नजिकै पुगेको थियो । आज पनि नारायणचौरबाट राजावादीको प्रदर्शन बालुवाटारतर्फ जाँदै थियो । सो क्रममा राजावादीहरू उग्र हुँदै निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेको प्रहरीको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us