कमल थापाले लावतीलाई भने, ‘पार्टीको होइन, स्वास्थ्यको चिन्ता लिनु’

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ८:२५ मा प्रकाशित

kalam thapa-lawatiनेपालगञ्ज, २ मंसिर– राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्ट नेता पद्मसुन्दर लावतीलाई पार्टीको चिन्ता गर्न छाडेर आफ्नै स्वास्थ्यको चिन्ता गर्न सुझाएका छन् ।
पार्टी कामका सिलसिलामा नेपालगञ्ज आएका थापाले मंगलबार यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै लावतीलाई पार्टीको भन्दा आफ्नै चिन्ता गर्न भनेका हुन् ।

नेता लावतीले अध्यक्ष थापा निरंकुश शैलीमा अघि बढेको भन्दै पार्टी सुद्धीकरण अभियान गठन गरेका छन् ।

लावती अभियानको संयोजक छन् । ‘बूढो भएको मान्छे, स्वास्थ्य कमजोर भएको सुन्छु’, थापाले भने, ‘सबैभन्दा ठूलो कुरा स्वाथ्य हो, लावतीजीले पार्टीकाबारेमा चासो लिन छाडेर आफ्नै चिन्ता गरेको भए हुन्थ्यो ।’

थापाले पार्टी पहिलेभन्दा सुदृढ हुँदै गएकाले लावतीले चिन्ता लिनु नपर्ने उनको भनाइ थियो । सोमबार मात्र राजधानीमा पत्रकार सम्मेलन गर्दै लावतीले अध्यक्ष थापा स्वेच्छाचारी, अवसरवादी, व्यक्तिवादी र परिवारवादी भएको आरोप लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us