माओवादी लडाकुका कमाण्डर कसरी भए ज्योतिष ?

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते १४:४२ मा प्रकाशित

एक पूर्वलडाकु कमाण्डर ग्रहदशा र गणित विज्ञानमा विश्वास मात्र गर्दैनन्, त्यसको प्रचार-प्रसार र खोज अनुसन्धानमै लागेका छन् । माओवादी सेनाका तत्कालिन कम्पनी कमिसार गणेश अधिकारी अहिले मार्क्र्सवादलाई ज्योतिषशास्त्रमा फ्युजन गराउने अभियानमा जुटेका छन् । नुवाकोटको थानसिंह ४ मकैचौरमा ३३ वर्षअघि जन्मिएका अधिकारी माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गर्दा क्याम्पस पढ्दै थिए । त्यतिबेलैदेखि आफू जनयुद्ध समर्थक रहेको, ०५२ देखि ०५५ सम्म विद्यार्थी संगठनमा काम गर्दै ०५५ मा पार्टी सदस्यता लिएको र ०५७ मा भूमिगत भएको बताउँछन् । यस्तो छ अधिकारीको माक्र्सवाददेखि ज्योतिषशास्त्रसम्मको यात्रा:

Ganeshगणितको विद्यार्थी हुँ
गणित विषयमा बीएसम्मको अध्ययन गरेको छु । पार्टीमा कहिले किसान संगठनमा, पार्टी संगठनमा हुँदै ०६१ सालमा जनमुक्ति सेनाको कम्पनी कमिसार  भएँ । मध्य क्षेत्रमा पहिला बासु स्मृति चौथो ब्रिगेड भन्ने थियो । पछि ब्रिगेडहरु धेरै भए र त्यसको नाम बासु स्मृति ब्रिगेड मात्र भयो । सेनामा रहँदा धादिनको कृष्णभीर, मकवानपुरको झुरझुरे, काभ्रेको पनौती, सिन्धुपाल्चोकको चौताराजस्ता ठूला लडाइँमा प्रत्यक्ष सहभागी भएको अनुभव छ । सेना प्रहरीलाई लक्षित गरी सडकमा एम्बुस थाप्ने कामहरु पनि धेरै नै गरियो । राजनीतिक कमिसार भएकाले बन्दुक पड्काउने भूमिका त थिएन । तर मेरो रुची पनि भएको र सैन्य फर्मेशनमा काम गरेको हुनाले आधारभूत सैन्य तालिम लिएको थिएँ । पेस्तोल, थी टन थ्री, एसएमजी र एसएलआरसम्मका हतियार चलाउन सक्छु ।
यसरी छाडें माओवादी सेना
शान्ति प्रक्रियाको प्रारम्भिक चरणमा दुई महिनाजति चितवनमा अस्थायी ब्यारेकमा बसियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनलाई लक्षित गरेर पार्टीले झण्डै आधा शक्ति बाहिर निकाल्यो । नुवाकोट क्षेत्र नम्बर ३ मा पोष्टबहादुर बोगटी उम्मेदवार हुनुहुन्थ्यो । उहाँको निर्वाचन परिचालन कमिटीको संयोजक भएर काम गरें । चुनाव जितियो । निर्वाचन क्षेत्रकै खड्गभञ्ज्या गाविसमा सामूहिक केरा खेती पनि गरेको थिएँ । तर राजनीति र खेतीका लागि समयको व्यवस्थापन गर्न सकिएन । अहिले एमाओवादीको नुवाकोट जिल्ला सम्मेलन आयोजक समिति सदस्य छु ।
हजुरबुबाको प्रभाव
मेरो हजुरबुबा स्व. एकनाथ  अधिकारी धुरन्धर गणितज्ञ ज्योतिष हुनुहुन्थ्यो । घरायसी वातावरणको प्रभावले ममा सानैदेखि ज्योतिष गणितमा चासो थियो । पार्टीमा भूमिगत हुनुअघि त्यसबारे आधारभूत जानकारी थियो । नवजात शिशुको जन्मकुण्डली र जन्म लग्न आदि निकाल्ने काम त्यतिबेलै गर्थें ।
ज्योतिष अध्ययन गर्न संस्था बनाएँ
दुई वर्षअघि एस्ट्रो साइन्स स्टडी एण्ड रिसर्च सेन्टर गठन गरेका छौं । ज्यो.गोविन्दप्रसाद अधिकारी अध्यक्ष र म महासचिव छु । गणित ज्योतिषको अनुसन्धान र घटना भएपछि अन्तिम प्वाइन्टबाट सुरुको प्वाइन्टतिर फर्केर ज्योतिषीय मापदण्डबाट नापेर हेर्ने काम गर्छौ र त्यसको कारण पत्ता लगाउन कोसिस गर्छौं । उस्तै प्रकारका क्षमता र स्वभाव भएका व्यक्तिहरुको सयौंको संख्यामा जन्मकुण्डली संकलन गरी तुलनात्मक अध्ययन गर्ने र त्यसबाट साझा निष्कर्ष निकाल्ने काम हामी गर्दैछौं । मौसम पूर्वानुमान गर्ने, रोगीहरुको आयुर्वेदिक र एलोपेथिक उपचारका लागि कुण्डली अध्ययन गरी रोगको पहिचान गर्ने हाम्रो लक्ष्य छ । त्यसको सन्दर्भ सामग्रीका रुपमा मुटु, क्यान्सरसहित सबै गम्भीर रोगीहरुको कुण्डली तयारी गरी तुलनात्मक अध्ययन गर्दै छौं ।
यस्तै  दुर्घटनाबाट मृत्यु हुनेको जन्मकुण्डली जम्मा गरी अध्ययन गर्ने गरेका छौं । हाम्रो उद्देश्य परम्परागत ज्योतिषीय मान्यतालाई विज्ञानसम्मत तवरले पुष्टि गर्ने हो ।
ज्योतिष विद्याका दुई विधा
ज्योतिष विद्यामा गणित र फलित भन्ने दुई विधा हुन्छ । समयका विभिन्न पक्षका साथै सौर्य ग्रहगतिहरुको सुक्ष्म अध्ययन गर्ने गणितीय विधा हो । फलित भनेको गणितमा आधारित भई घटनाहरुको भविष्यबाणी गर्ने व्यक्तिहरुका विगत, वर्तमान र भविष्यका बारेमा विश्लेषण गर्ने विधा हो । यसमा विकृति बढेको छ । केही मानिसले ज्योतिषीका नाममा सडकदेखि महलसम्म बसेर मानिसको मनोदशा र मनोविज्ञानलाई समातेर ‘धन्धा’ नै चलाएका छन् ।  तर हामी त्यसो गर्दैनौं ।  गणितको अध्ययन गरेर पात्रो तयार गर्नेसम्मको लक्ष्य मेरो छ ।
बाहिर विरोध, भित्र ज्योतिष हेराउने कम्युनिष्ट प्रवृत्ति
खास गरी भौतिकवादी हुँ भन्नेहरुले नै साख गिर्छ कि भन्ने डरले ज्योतिष शास्त्रको विरोध गर्ने गरेका छन् । उनीहरुमा अगाडि विरोध  र खिस्यिट्युरी गर्ने, तर पछाडि त्यसैलाई फ्लोअप गर्ने प्रवृत्ति छ । त्यो प्रवृत्ति हाम्रै पार्टीभित्र पनि छ । कतिपय ठूला नेता नै तान्त्रिक र बाबाहरुको सम्पर्कमा रहेको बुझिन्छ ।
ज्योतिष शिक्षा पाठ्यक्रममा राख्नुपर्छ
म तान्त्रिक र कर्मकाण्डलाई विश्वास गर्दिन । मेरो मान्यता सरकारले ज्योतिष विद्यालाई विद्यालय शिक्षामा आधारभूत पाठ्यक्रम विकास गरी अध्ययापन गराउनुपर्छ भन्ने छ ।
हिजो ज्योतिष पेशा विशुद्ध बाहुनहरुले मात्र गर्ने भन्ने परम्परा तोडेर सबै जाति, धर्म, लिंगका खास गरी गणित विषयमा राम्रो दख्खल भएका विद्यार्थीलाई त्यसबारे प्रशिक्षित गराउने हो  । जहाँसम्म मेरो सन्दर्भ छ, म राजनीतिबाट वितृष्णा भएर वा जिविकोपार्जनका लागि समस्या भएर यो पेशामा लागेको होइन । अध्ययन अनुसन्धान गरी ज्योतिष विज्ञानलाई नयाँ ढंगले विकास गरेर लैजाने प्रयत्नमा छु ।
एक हजार जन्म कुण्डली बनाएँ
अनुसन्धानकै सिलसिलामा मेरो सम्पर्कमा आइपुग्ने सेवाग्राहीलाई सेवा दिएको छु । अहिलेसम्म एक हजारभन्दा बढी जन्मकुण्डलीहरु बनाएको छु । मेरो कामबाट मान्छे खुसी छन् । मैले आफ्नो सेवामा आधारभूत रुपमा तीनवटा विधिहरु प्रयोग गर्ने गरेको छु ।
पहिलो जन्म कुण्डलीमा ग्रहहरुको अवस्था हेरी बिरामीको रोग पहिचान गरी मेडिकल उपचारका लागि सिफारिस गर्ने । दोश्रो आयुर्वेदिक औषधिहरुमार्फत रोगीको उपचारका लागि सिफारिस गर्ने र तेश्रो कलर थेरापी र पत्थरहरुको प्रयोग गराई उपचार गराउने ।
ग्रहपूजा, शान्ति स्वस्ति, मन्दिर जाने भन्ने कुनै पनि विधि मेरो प्राथमिकतामा छैन । गणित विज्ञानसँग त्यसको कुनै साइनो पनि छैन । अरु झुठ कुरा हो । ग्रहहरुको असर मानिसमा पर्छ । तर त्यसको उपचार आत्मिक शान्ति वा आध्यात्मिक तरिकाले होइन । भौतिक बस्तुहरुको प्रयोगबाटै गरिन्छ ।
माक्र्सवादले ज्योतिष विज्ञानको खण्डन गर्न सक्दैन
आदर्श र दर्शनको कुरा गर्दा माक्र्सवाददेखि प्रचण्डपथ समेतले समाजका अरु कयौं विधाहरुका बारेमा खण्डन मण्डनसहित प्रतिक्रिया दिँदा पनि त्योतिष विज्ञानको तर्कसंगत खण्डन गर्न सकेको छैन । यो विशुद्ध भौतिक विज्ञानसँग जोडिएको विषय हो । जबसम्म आकाशमा खास गरी सूर्य र चन्द्रमाको अस्तित्व स्वीकार गरिन्छ । त्यतिबेलासम्म ज्योतिष विज्ञानलाई नजरअन्दाज गर्न सकिंदैन ।
मान्छे जन्मेकै दिन भविष्य थाहा हुन्छ
मान्छे आमाको गर्भबाट खुला संसारमा आउँदादेखि नै बाहिरी वातावरणको र खास गरी सौर्य मण्डलका ग्रह पिण्डहरुको प्रभावमा पर्न थाल्दछ । मानिस कोही, डाँका हुन्छ, कोही साधु हुन्छ, कोही नेता हुन्छ, कोही के हुन्छ । त्यो समयको कारणले भएको हो । सौर्य मण्डलका ग्रह चलिरहेका बेलामा त्यो कहाँ पुग्दा मानिस जन्मन्छ त्यो समयको आधारबाट उसको गुण, स्वभाव, चरित्र, प्रतिभा निर्धारण हुन्छ । बीचमा आउने दुर्घटनाबाट सचेत गराएर न्यूनीकरण गर्न पनि ज्योतिष विज्ञानको महत्वपूर्ण भूमिका हुन्छ ।
पार्टीभित्र खिसीट्युरी
पार्टीभित्र मेरो अगाडि कसैले केही भन्दैनन् । पछाडि खिसीट्युरी गर्ने गरेको सुनेको छु । पछाडि कुरा गर्नुको कुनै अर्थ छैन । यदि कोही अगाडि आउँछ भने गणित ज्योतिषका बारेमा बहस गर्न तयार छु । खास गरी माक्र्सवाद र ज्योतिष विज्ञानबीच कुनै साइनो हुँदैन भन्ने एकथरिको तर्क छ । तर के माक्र्सवादले ज्योतिष शास्त्रको कतै खण्डन गरेको छ र ? सौन्दर्य शास्त्र, राजनीति शास्त्र, अर्थशास्त्र आदिको माक्र्सवादले खण्डन गरेको छ । तर ज्योतिष विज्ञानको सन्दर्भमा माक्र्सवाद मौन छ ।
ganesh 2भनेकै समयमा किन लाग्छ त ग्रहण ?
ग्रहण लाग्नेसम्बन्धी ज्योतिषीय गणित धेरै पूरानो हो । त्यो आजसम्म फेल भएको छैन । रात भनेकै बेलामा पर्छ । उज्यालो हुन्छ भनेकै समयमा उज्यालो हुन्छ । यसलाई कसैले चुनौती दिन सकेको छ र ? भूमिगत जीवनको मेरै अनुभवमा म मृत्युको मुखमुखमा पुगेर पनि किन बचें भन्नेबारेमा मैले अध्ययन गरें । त्यससम्बन्धी निष्कर्षमा ज्योतिष विज्ञानको धारणासँग म सहमत छु । यो मेरो जीवनको भोगाइ हो ।
विमान दुर्घटनाको भविष्यवाणी गर्न सकिन्छ
सौैर्य मण्डलमा धेरै ग्रह छन् । जसमध्ये बुध सूर्यको निकट ग्रह हो । यसलाई सूर्यले पछाडि धकेल्ने अवस्थामा (बक्र गति) र पुनः सुरुकै गतिमा फर्कने अवस्थामा पृथ्वी र सूर्यबीचको गुरुत्वाकर्षण शक्तिमा असन्तुलन भई आकासमा विमानहरु दुर्घटनामा पर्ने बढी सम्भावना रहन्छ । यस सम्बन्धमा मेरा ५–६ वटा अनुसन्धान सफल पनि भएका छन । विमानमा भिजिविलीटी कम भएर उडान रद्द भएका कयौं घटना छन् । म ती सबै घटना किन भएका थिए भन्ने विषयमा  समयअनुसार तथ्य पेस गर्न सक्छु ।
२०६७ भदौ ८ मा मकवानपुरको शिखरपुरमा अग्नि एयरको जहाज दुर्घटनमंसिर २९ गते खोटाङको लामिडा“डाबाट काठमाण्डुका लागि उडेको तारा एयरको विमान ओखलढुंगाको रुम्जाटारनजिकै दुर्घटना भयो । त्यो बेला बुध सूर्यदेखि एक डिग्री १० मिनेटको दुरीमा रही बक्र भएर अस्ताएको थियो । २०६७ भदौ १९ मा भैरहवाबाट आएको बुद्ध एयरको विमान आपतकालिन अवतरण गरिएको थियो । त्यही सालको १२ पुसको बिहान करिब ३ घण्टा भिजिविलटी कम भएर सबै आन्तरिक र बाह्य उडान रद्द गरिएको थियो । यी सबै घटना परिघटनामा बुध ग्रहको अस्त र बक्रको प्रभाव देखिन्छ । हाम्रो मान्यतामा यो कुरा मिलेको छ । अध्ययनबाट हामी आगामी दिनमा सतर्कता अपनाउन सम्बन्धित निकायलाई सुझाव दिन सक्छौं ।
कहिले बलात्कारमा पर्छन् युवती ?
खास गरी औंसी र पूर्णिमाको आसपासमा समूद्रहरुमा ज्वारभाटा बढी उठ्ने गर्छ । त्यतिबेला युवतीहरुमा यौनाकांक्षा बढ्छ । युवतीहरु बढी बलात्कारमा पर्ने पनि यही समय हो । आत्महत्याका घटना पनि यसै समयमा बढी हुने गरेको पाइएको छ । ज्योतिष विज्ञानका अनुसार मानिसको शरीरमा सूर्यले इन्जिन (पाचन शक्ति ) मंगलले इन्धन (रगत) बुधले स्नायु प्रणाली र कलेजोको नियन्त्रण बृहस्पति ग्रहले गर्छ । शुक्रले प्रजनन र सेक्सको प्रतिनिधित्व र परिचालन गर्ने गरेको हुन्छ ।  यही आधारमा मैले गरेका अनुसन्धानहरु सत्यको नजिक  छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us