कतारमा मान्छे बेच्दा राष्ट्रवादी हुने, पानीको सदुपयोग गर्दा राष्ट्रघाती हुने ?

काठमाण्डु टुडे २०७१ साउन १५ गते १०:२३ मा प्रकाशित

amreshनरेन्द्र मोदीको नेपाल भ्रमणबाट के अपेक्षा गर्ने ?
गरिब नेपाललाई धनी बनाउनु छ । नेपालमा दिगोशान्ति स्थापना गर्न, गणतन्त्र संस्थागत गर्न र दैनिक एक हजारभन्दा बढीको संख्यामा विदेशिने गरेका नेपालीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न राजनीतिक स्थायित्व चाहिन्छ ।

मोदीको भ्रमणबाट नेपालमा जारी शान्ति प्रक्रिया र संविधान लेखनलाई निष्कर्षमा पुर्‍याउन सहयोग मिल्ने छ । तर नेपालीहरुमा हतारमा काम गर्ने बानी छ । मोदी भ्रमणको तयारी पनि निकै ढिला भयो । दुई दिनअघि मात्र भ्रमण तयारीका लागि दलीय समिति गठन भएको छ । आर्थिक, राजनीतिक र साझेदारीका हिसाबले मोदीको भ्रमण फलदायी हुनेछ ।

जतिबेला तत्कालिन सात दल र एकीकृत माओवादीबीच १२ बुँदे समझदारी भयो, त्यतिबेलासम्म तपाईंलाई कसैले चिनेकै थिएनन् । तर शान्तिप्रक्रियामा मेरो भूमिका छ भन्ने दाबी गर्दै हिंड्नुभएको छ नि ?
१२ बुँदे समझदारी मुलुकका लागि एउटा महत्वपूर्ण परिघटना थियो । व्यक्तिगत रुपमा मेरो लागि पनि त्यो किनै महत्वपूर्ण रह्यो । मैले त्यही बिन्दुबाट औपचारिक रुपमा राजनीति सुरु गरेको हुँ । अन्तरिम संविधान जारी गर्ने बेलामा सबै शीर्ष नेतासँगै म उभिएको फोटो सञ्चार माध्यममा आयो । त्यतिबेला म सर्वसाधारणकै हैसियतमा थिएँ । यो मानिस को हो भनेर खुबै चर्चा पनि भयो त्यतिबेला ।
राजनीति थालेको केही वर्षमै धेरै चर्चा पाउनु भयो कसरी ?
म जतिबेलादेखि सम्पूर्ण रुपमा राजनीतिमा होमिएँ त्यतिबेला भर्खरै भारतमा बढाइ सकेको थिएँ । नेपाल आएपछि अन्तरिम व्यवस्थापिका–संसदको सदस्य मनोनित भएको थिएँ । अहिले जनताबाट चुनिएको छु । त्यो पनि एउटा पार्टीको राष्ट्रिय अध्यक्षलाई १० हजारभन्दा बढी मतअन्तरले हराएर ।
महन्थ ठाकुर जसलाई तपाईंले हराउनुभयो, पहिला तपाईं उहाँकै राजीतिक सहयोगी हुनुहुन्थ्यो होइन ?
महन्थ ठाकुर मेरो राजनीतिक गुरु हुनुहुन्छ । उहाँलाई सम्मान गर्छु । तर उहाँले जस्तो क्षेत्रीय राजनीतिमा विश्वास गर्दिन ।
तपाईंको देखिने राजनीतिक हैसियत नेपाली काँग्रेसको सभासद् मात्र हो, तर शीर्ष नेताहरु सबैलाई दिनहुँजसो भेट्नुहुन्छ रे कसरी सम्भव छ ?
म आफू हरेक कुरालाई सकारात्मक रुपमा सोच्ने गर्छु । र अरुलाई पनि त्यसरी नै सोच्न सुझाव दिन्छु । बिहान ४ बजे उठ्छु र राति ११ बजेसम्म राजनीतिमा सक्रिय हुन्छु । नुहाई धुवाई र खाना खानबाहेक अन्य समय मुुलुककै लागि खर्च गरिरहेको छु । सबै मिलेर संक्रमणकाललाई निष्कर्षमा पुर्‍याउनु छ । सहमति निर्माणको प्रयासमा दिनमा चार–पाँचजना शीर्ष नेतालाई भेट्छु ।

शीर्ष नेताहरुको सहयोगले सफलता पनि पाइरहेको छु । मैले यो बीचमा अनुभव गरेको कुरा के छ भने नेपालका शीर्ष नेतामा जतिसुकै विवादका बीचमा पन सहमति गर्न सक्ने क्षमता छ ।
नेपालका नेतामा तपाईंलाई सबैभन्दा बढी मन पर्ने को ?
नेपालका दुईजना नेताको नेतृत्व क्षमताबाट प्रभावित छु र उहाँहरुलाई सम्मान पनि गर्छु । स्वर्गीय गिरिजाप्रसाद कोइराला र प्रचण्ड । उहाँहरुमा नेतृत्व क्षमता नभइदिएको भए मुलुक शान्ति प्रक्रियामा आउने थिएन । गिरिजाप्रसालले मलाई विश्वास गर्नुभयो र शान्ति प्रक्रियामा भूमिका दिनुभयो । पार्टीभित्र विरोधका बावजुद अन्तरिम विधायिककाको सदस्यमा मलाई मनोनित गर्नुभयो । मेरो बिहेको खर्च सबै उहाँले नै ब्यहोरिदिनुभयो । यो कुरा आज म तपाईंलाई पहिलोपटक भन्दै छु । कृष्णप्रसाद सिटौलाबाहेक यो विषयमा कसैलाई थाहा छैन । अरुको पार्टीमा ५/१० मिनेट मात्र बस्ने गिरिजाबाबु मेरो बिहेको पार्टीमा एक घण्टासम्म बस्नुभयो । यो उहाँले मलाई दिएको महत्व थियो ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरन्द्र मोदीसँग हात मिलाइरहेको फोटो फेसबुकमा सार्वजनिक गर्नुभयो, म मोदी भेट्ने हैसियतको मान्छे हुँ भनेर देखाउन त्यसो गर्नुभएको हो ?
मोदी प्रधानमन्त्री बनेको १५ दिनभित्रै वान टु वान भेटेको हुँ । भेटमा कुनै सरकारी कर्मचारी थिएनन् । सिर्फ म थिएँ र मोदी । त्यो समाचारलाई भारतीय सञ्चार माध्यमले महत्वकासाथ स्थान दिएका थिए ।
तपाईं सभासदबाहेक नेपालको कुनै उच्च ओहोदाको व्यक्ति होइन, कुन हैसियतमा र किन मोदीलाई भेट्नुभयो ?
मुलुकका लागि काम गर्न पद नै चाहिन्छ भन्ने केही छैन । साहित्यकार धेरै हुन्छन् तर किन सबै प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुँदैनन् ? विश्वविद्यालयमा धेरै प्राध्यापक हुन्छन् तर उपकुलपति हुने त एउटै व्यक्ति हो । त्यस्तै पार्टीमा पनि धेरै नेता हुन्छन्, सबैको भूमिका र जिम्मेवारी बराबर हुँदैन । कोही उच्च स्थानमा पुगेर पनि केही गर्न सकिरहेका हुँदैनन् ।

कसैले ‘लो प्रोफाइल’ मै बसेर प्रभावकारी भूमिका खेलिरहेको हुन्छ । लोकसभा निर्वाचनको परिणामले भारतमा सरकार मात्र परिवर्तन भएन, सत्ता नै परिवर्तन भयो । पछिल्लो ३० वर्षयता कुनै पनि सरकार बहुमतका भएनन् । सबै गठबन्धन सरकार थिए । यो बीचमा कुनै सरकार गठन भएको १३ दिनमै ढलेको पनि इतिहास छ । मोदी सरकार ३० व्र्षपछि एउटै पार्टीको बहुमत प्राप्त बलियो सरकार हो । यसअघि मोदी गुजरातको मुख्यमन्त्री थिए, र क्षेत्रीय राजनीतिमा थिए ।

भारतका अरु थुप्रै शीर्ष नेतासँग भेटेको छु । राष्ट्रिय राजनीतिमा नभएका कारण उनीसँग भेटेको थिइन । पहिलो कुरा म अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थी भएको नाताले ‘पावर सेन्टर’ हरुसँग सम्बन्ध राख्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । अर्को कुरा नेपालको शान्ति प्रक्रिया र संविधान लेखनका बारेमा मोदीलाई जानकारी गराउनु थियो । मत सुरुदेखि नै त्यसमा संलग्न छु । २० मिनेट लामो भेटमा मैले मोदीलाई १२ बुँदे समझदारीदेखि गणतन्त्र स्थापना, संविधानसभाको विघटन, शान्तिप्रक्रिया र अहिलेसम्मका सबै कुरा विस्तारमा राखें । राजावादीहरु दिल्लीमा डेरा जमाएर बसेका छन् ।  यस्तो बेलामा मोदीजीलाई नेपालको अवस्थाबारे जानकारी गराउनुपर्छ भनेर म गएको हुँ ।
के कुरा भयो त मोदीसँग ?
मैले मोदीजीलाई प्रष्ट रुपमा भनें कि नेपालका शान्ति, स्थायित्व र विकास नभएसम्म भारतलाई ‘टेन्सन’ भइनै रहन्छ । त्यसैले शान्ति प्रक्रिया र संविधान लेखनमा सहयोग गरेर संक्रमणकाल अन्त्यका लागि भूमिका खेल्न आग्रह गरें । शान्तिपूर्ण, स्थायित्व भएको र विकसित नेपालले मात्र भारतको सुरक्षा चासोलाई राम्ररी सम्बोधन गर्न सक्छ । त्यसैले भुटान र बंगलादेशमा जस्तै नेपालमा पनि विकासका लागि दिने अनुदान बढाउनुस् भनें । उनले मेरो सुझावलाई सकारात्मक रुपमा लिए ।
मोदीको नेपाल भ्रमणका बारेमा पनि केही कुरा भएको थियो ?
मैले जतिबेला भेटेको थिएँ, त्यतिबेला मोदी सत्तामा आएको दुई साता मात्र बितेको थियो । त्यतिबेलासम्म नेपाल भ्रमणको कुनै चर्चै थिएन । मोदीलाई नेपालको भ्रमण गर्न सुझाव दिने पहिलो नेपाली मै हुँ । भारतमा विजेपीले होइन, मोदीले जितेका हुन् । मोदीको उदयलाई नेपालसहित दक्षिण एसियाले नै चासोका साथ हेरेको छ । मैले उनलाई भनें कि विकासको प्राथमिकतामा नेपाललाई राख्नुस् । नेपालको भ्रमण गर्नुस् । त्यो पनि साउनमै । सार्कको कात्तिकमा हुने बैठकमा नेपाल जाँदा त्यति अर्थपूर्ण हुँदैन । त्योभन्दा पहिला नै आउनुस् । नेपालका राजनीतिक दलहरुसँग कुरा गर्नुस् मैले भनेको थिएँ ।

मोदी हिन्दू धर्मप्रति अगाध आस्था राख्छन् । त्यसो भएर पनि मैले भनें कि पशुपतिनाथको दर्शनका लागि उपयुक्त समय साउनको सोमबार या शिवरात्रि मानिन्छ । त्यसैले साउनमै आउनुस् भनेको हुँ । भ्रमणको तालिकामै आइतबार नेपाल आउने र सोमबार पशुपति दर्शन गर्ने रहेको छ ।

यो मेरै सुझावमा भएको हो । मोदीजीलाई मैले अर्को कुरा पनि भनें कि नेपालको हाइड्रोमा लगानी गर्नुस् । हुलाकी सडक भारतले बनाइदिने जिम्मा लिएको वर्षौं भइसक्यो, अझै काम भएको छैन ।  अर्को नेपाल मामिला कर्मचारीले हेर्ने गरेका कारण समस्या आउने गरेको छ, राजनीतिक सम्बन्ध बढाउनुपर्छ भनें ।
मोदीले चाहिं तपाईंबाट के कुरा जान्न चाहनुभयो ?
उनले संविधान निर्माणमा के समस्या छ भनेर सोधे । मैले पहिलो संविधानसभा विघटनको कारण सुनाएँ । अहिले पनि संविधान निर्माणको चुनौती भनेको संघीयताको मोडल कस्तो हुने भन्नेमा हो । माओवादी पनि पूरै लोकतान्त्रिक प्रक्रियामा आएको छ । उसलाई सधैं शंकाको दृष्टिले हेर्नु हुँदैन भन्ने मेरो कुरा थियो । योसमेत गरेर माओवादी तेश्रोपटक ‘पार्लियामेन्ट’ मा सहभागी भइसकेको छ ।

यो उसको लोकतान्त्रिकरणको प्रमाण हो । मेरो कुरा सुनेपछि मोदीजीले भने कि तपाईं इण्डिया आउँदा जहिले पनि मकहाँ आउन सक्नुहुन्छ, तपाईंका लागि मेरो ढोका खुला छ ।
तपाईं सभासदको मात्र हैसियत भएको मान्छेलाई मोदीले त्यति धेरै महत्व दिएर एक्लै भेट्नुको कारण के ? अर्को तपाईंमाथि मोदीको भेटलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गर्नुभयो भन्ने आरोप छ नि ?
त्यसमा मेरो केही न केही खुबी त पक्कै होला नि । म प्रष्ट वक्ता हुँ । हुने कुरा बोल्छु, नहुने कुरा कहिल्यै बोलिन । म जे गर्दा पनि दुईवटा चिजलाई साक्षी राखेर गर्छु । एउटा नेपाली जनता र अर्को आफ्नो आत्मा । जे कुरा बोल्दा पनि नेपाली जनतालाई साक्षी राखेर बोल्छु ।
राजनीति भनेको झुठ हो भन्ने स्थापित भएको छ, त्यो अन्त्य हुनुपर्छ । राजनीति भनेको पैसा हो भन्ने भ्रम छ, त्यो होइन । मैले राजनीतिमा लागेर निजी स्वार्थ केही लिएको छैन । भारतसँग पनि केही लिएको छैन । भाई भजितालाई स्करलरसिप मिलाएको छैन ।
मोदी भ्रमणको पूर्वसन्ध्यामा नेपालका हिन्दूवादीहरुको मनोबल बढेको छ, यसमा के कारण होला ?
राज्यको आफ्नो धर्म हुँदैन । तर सबैलाई धर्म मान्ने छुट छ । तर एउटा कुरा के छ भने धर्मनिरपेक्षताका नाममा ‘क्रिस्चियनिटी’ फैलाइएको छ । अघिल्लो जनगणनाका क्रममा नेपालमा हिन्दूपछि सबैभन्दा धेरै बौद्ध धर्मावलम्बी थिए । पछिल्लो जनगणनामा त्यो संख्या ह्वात्तै घटेको छ र क्रिस्चियनहरु बढेका छन् । पैसा वा अन्य प्रलोभनमा धर्म परिवर्तन गर्ने कुरालाई भने कडाइपूर्वक रोकिनुपर्छ । हिन्दू धर्मप्रति नेपालीहरुको आस्था कस्तो छ भन्ने कुरा गत संविधानसभा निर्वाचनको काठमाण्डुको परिणाम हेर्दा प्रष्ट हुन्छ । राप्रपा नेपाल पूरानो राजनीतिक एजेण्डा बोकेर चुनावमा गएको थियो । उसको राजनीतिक एजेण्डामा धेरैको सहमति छैन ।

काठमाण्डु सबैभन्दा सचेत र बौद्धिक मानिसहरु बसेको ठाउँ हो । तर त्यही ठाउँबाट कमल थापाको पार्टीले समानुपातिकमा किन सबैभन्दा धेरै मत ल्यायो त ? काठमाण्डुका मतदाताले हिन्दूत्व र गाईका नाममा त्यो पार्टीलाई मत दिए । यद्यपि धर्मनिरपेक्षतामा जाने उच्चस्तरको राजनीतिक सहमति हो । त्यो अहिले उल्टिने अवस्थामा छैन । त्यसबारे संविधानसभाले आमसहमतिका आधारमा निर्णय गर्छ ।

कुनै एक पक्षको मात्र चाहनाले त्यो निर्णयमा पुनर्विचार हुने अवस्था छैन र हुुनु पनि हुँदैन । जहाँसम्म मोदी भ्रमणबाट हिन्दूवादीहरु उत्साहित भएको कुरा छ, उनीहरुले केही पाउने आशा नगरे हुन्छ । म  दाबीका साथ भन्छु कि बोलबमवादीहरु र हिन्दूत्वका नाममा चर्का कुरा गर्नेहरुले मोदीसँग भेट्न समेत पाउँदैनन् ।
क्षेत्रीय राजनीतिमा विश्वास छैन भन्ने मान्छेले भारतीय विदेशमन्त्री नेपाल आएका बेला किन मधेसवादी दलकै घानमा उनलाई भेट्नुभएको ? छुट्टै वा आफ्नै पार्टीका नेताहरुसँगै भेटेको भए हुने थिएन ?
मैले काँग्रेसकै सभासद भएर उनलाई भेटेको हुँ । त्यहाँ म मात्र होइन, एमाले र एमाओवादीका मधेसी नेता पनि थिए । म मधेसवादी दलका नेतालाई औंठाछाप हाल्न त्यसरी गएको होइन । म नेपालको स्थायित्वका लागि राजनीति गर्न चाहन्छु । द्वन्द्व वा त्यसको अवशेष जबसम्म रहन्छ, तबसम्म मुलुकको विकास सम्भव छैन । द्वन्द्व अन्त्य नभएसम्म आर्थिक वृद्धिदर ८/१० प्रतिशतमा पुर्‍याउँछु भन्ने हावादारी गफ कसैले नदिए हुन्छ ।

मधेसमा मुलुकको ५१ प्रतिशत जनसंख्या बसोबास गर्छ । ५१ प्रतिशत जनसंख्यालाई उपेक्षा गरेर के नेपालको विकास हुन्छ ? हामीले धेरै समय खेर फालिसकेका छौं, अब हामीसँग खेर फाल्नका लागि कुनै समय छैन । मुलुकको समस्या बुझ्नुपर्छ र समाधानमा लाग्नुपर्छ । मधेसका नागरिकमा हामीलाई नेपाली स्वीकार गरिएन भन्ने डरलाग्दो मनोविज्ञान छ । यस्तो मनोविज्ञानले उनीहरुमा विखण्डनको भावना विकास हुन सक्छ । माओवादीले १० वर्षसम्म मुलुकभर जनयुद्ध गर्‍यो, तर मुलुक टुक्रिएन । तर सिंगो मधेसमा १० वर्ष होइन, एक वर्षमात्र माओवादी जनयुद्धजस्तो युद्ध भयो भने मधेस टुक्रन्छ । यो कुरालाई सबैले बुझ्न जरुरी छ ।
म स्मरण गराउन चाहन्छु । नेकपा माओवादीले २०५२ सालबाट सुरु गरेको जनयुद्धको प्रभाव पहिलो तीन वर्षसम्म खासै थिएन । जब माओवादीले जातीय र क्षेत्रीय मुद्धा जोडदारका साथ उठाए, त्यसले गति लियो । नेपाली समाजमा अहिले पनि जातीय र क्षेत्रीय ‘सेन्टिमेन्ट’ हाबी छ । यो उत्पीडिनका कारण निम्तिएको समस्या हो । यस्तो समस्या समाधान गर्नुपर्छ भनेर मधेसवादी दलसँगै बैठकमा गएको हुँ ।
तपाईंले जे सुकै तर्क गरे पनि भारतीइ प्रधानमन्त्रीलाई समेत एक्लै भेट्न सक्ने व्यक्तिले विदेशमन्त्रीलाई मधेसवादी दलका लागि भनेर बोलाइएको मिटिङमा त्यसरी सामूहिक रुपमा भेट्नुको कुनै भित्रि कारण थियो भन्ने आशंका त उठिरहन्छ नि ?
प्रधानमन्त्रीलाई भेट्ने व्यक्तिले विदेशमन्त्री भेट्न नसक्ने भन्ने त थिएन । मैले सुष्मा स्व्राजलाई भारतमै भेटेको थिएँ । ४० मिनेट कुरा भएको थियो । पार्टीलाई जानकारी गराएरै म मधेसी दलका नेतासँगै सुस्मालाई भेट्न गएको हुँ । भारतीय विदेशमन्त्रीको समय कम थियो । नेपालमा चारवटा राजनीतिक शक्ति छ । काँग्रेस, एमाले, माओवादी र मधेसवादी । मधेसीलाई एउटै शक्ति मानेर छुट्टै भेटेको होला । म मात्र थिइन, काँग्रेस र माओवादीका मधेसी नेताहरु पनि भेटमा थिए । कुनै पनि चिजलाई गलत व्याख्या गर्नु हुँदैन ।
नेपाल–भारत सम्बन्धको चर्चा गर्ने बित्तिकै तपाईं अगाडि आइहाल्नु हुन्छ किन ?
मैले जे एनयुबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेको हुँ । नेपाल–भारत सम्बन्धलाई नजिकबाट हेरेको छु । म पढ्न मात्र होइन, पढाइपछि राजनीतिमा आउले उद्धेश्यले भारत गएको थिएँ । त्यसअघि म नेपालमा क्याम्पस पढाउँथें । मैले के बुझेको छु भने नेपालको विकास हुन नसक्नुमा भारत र चीनसँग राम्रो सम्बन्ध नभएर हो ।
नेपाल र भारतबीचमा विशेष सम्बन्ध छ भनिन्छ तर, तपाईं सम्बन्ध राम्रो छैन भन्नुहुन्छ कसरी ?
विशेष सम्बन्ध भन्ने कुरा ‘कस्मेटिक’ र औपचारिक मात्र हो । भारतीय र नेपालीबीच जनस्तरको सम्बन्ध राम्रो छ । तर दुई सरकारबीच कहिल्यै राम्रो सम्बन्ध हुन सकेन । आशंकाको सम्बन्ध रहँदै आएको छ । १७ वर्षसम्म भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएन । यदि भनिएजस्तै विशेष सम्बन्ध भएको भए २३ वर्षसम्म किन परराष्ट्रमन्त्रीस्तरीय बैठक हुन सकेन ? सम्बन्ध राम्रो भएको भए हाम्रो प्रधानमन्त्री सपथ लिने बित्तिकै भारत वा चीन जाने अनि उनीहरु किन आउँदैनन त नेपाल ? कुटनीतिमा सानो र ठूलो वा धनी र गरिब भन्ने हुँदैन ।
परापूर्वकालकै कुरा गरौं न कृष्ण धनी थिए तर उनको सुदामासँग विशेष सम्बन्ध थियो । राम धनी थिए, तर किन सुग्रिबसँग किन मित लगाए ? तर एउटा कुरा के भने हाम्रो प्रधानमन्त्री संसारकै कमजोर छन् र प्रधानमन्त्री कार्यालय सबैभन्दा अव्यवहारिक छ । त्यो दरबारको सेटमा बनेको छ । प्रधानमन्त्री र कर्मचारीबीच समन्वय हुनै कठिन छ । मैले प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला भनेको थिएँ कि प्रधानमन्त्री कार्यालयको संरचना फेरौं । तर उहाँहरु कसैले पनि काम थाल्न नपाउँदै सरकार ढल्यो ।
अब प्रसंग बदलौं, तपाईंको विचारमा नेपाल–भारत जलविद्युत विकास सम्झौताको किन विरोध भइरहेको होला ?
नेपालमा हाइड्रो पावरको विकास भयो भने आफ्नो व्यापार धारासायी हुन्छ भन्ने एकथरि माफियाहरु छन् । ब्याट्री, इन्भर्टर र जेनेरेटर व्यापारीहरुको ठूलो सञ्जाल माथिसम्मै छ । भन्सारमा गएर हेर्नुस उर्जाको विकल्पमा नेपालमा ब्याट्री, इन्भर्टर र जेनेरेटर बाहिरबाट कति आउँने गरेको छ थाहा हुन्छ । अर्को भारतको विरोध गर्ने बित्तिकै राष्ट्रवादी भइन्छ भन्ने महेन्द्रको राष्ट्रवादका ‘फ्लोअर’ हरु धरै छन् । हामी भारत र चीनसँग सबै कुरा मागेर चलाउन चाहान्छौं ।

तर उनीहरुकै चर्को विरोध गरेर राष्ट्रवादी देखिन खोज्छौं । अरुलाई गाली गरेर राष्ट्रवादी भइँदैन, आफू बलियो हुनुपर्‍यो अनि पो बार्गेनिङ पावर बढ्छ त । राष्ट्रियताको खोक्रो नाराले केही हुँदैन । राष्ट्रियताको चर्को कुरा गर्नेलाई मेरो आग्रह के छ भने अन्तर्राष्ट्रिय विमानस्थल गएर कामका लागि साउदी, कतार र मलेसिया जान लागेका युवाहरुलाई नेपालमै बस्न आग्रह गर्नुस् । र उनीहरुलाई रोक्न सक्नुस् । जलस्रोतमा मात्र राष्ट्रियता देख्ने मान्ने बेच्दा राष्ट्रियता नदुख्ने यस्तो मण्डले राष्ट्रवादले हामीलाई कर्हीं पुर्‍याउँदैन ।

हजारौं नेपाली चेलीहरु कतार, साउदी र मलेसियमा बेचिएका छन् । के त्यसले नेपालको राष्ट्रियता बलियो भएको छ ? नेपालको इज्जत बढेको छ ? नेपालको अनुहार उज्यालो भएको राष्ट्रियता होइन, हामीलाई जनताको अनुहार उज्यालो भएको राष्ट्रियता चाहिएको छ ।

जनताको कमजोर चेनताको फाइदा उठाएर उग्रराष्ट्रवादी कुरा गर्नेहरु धेरै छन् । तर उनीहरुको यो धन्धा अब धेरै समय टिक्दैन । किन भने नेपाली जनताले विकास र समृद्धि चाहेको छ । कित आफू लगानी गरेर ठूला विकास आयोजना अगाडि बढाउन सक्नुपर्‍यो । होइन भने विदेशी सहयोग नलिएर कसरी मुलुकको विकास सम्भव हुन्छ ?
भियतनाममा ‘बोई मोई’ भन्ने शब्द प्रचलनमा रहेछ । नेपालीमा त्यसको अर्थ पूरानो बिर्सने र नयाँ सुरुआत गर्ने भन्ने हुँदो रहेछ । भियतनामको अमेरिकासँग सबैभन्दा बढी द्वन्द्व भयो । तर अहिले त्यहाँ हेर्नुस् सबैभन्दा धेरै लगानी अमेरिकीहरुको छ । सधैंभरि कुनै अमुक वादको कुरा गरेर जनतालाई भ्रममा नपारौं । अहिले विकासवादको कुरा गर्ने बेला हो ।

भारतबाट बिजुली किनेर नेपालको पैसा बाहिरिँ राष्ट्रियता बलियो देख्ने तर आफ्नै देशको खोलामा खेर गइरहेको पानीबाट बिजुली उत्पादन गरेर उर्जा संकट टार्ने कुरा राष्ट्रघाती कसरी हुन सक्छ ? हाम्रो  व्यापार घाटाको दर डरलाग्दो ढंगले बढेको छ । के गोलभेंडा, घ्यू, राडीपाखी बेचेर व्यापार घाटा कम हुन्छ ? व्यापार घाटा कम गर्ने हो भने जलविद्युतमा लगानी बढाउनैपर्छ ।

प्रस्तुति: किरणबाबु मरहठ्ठा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us