बझाङ, १४ साउन – सदरमुकाम चैनपुरको सडक विस्तारको निहुँमा लाखौँको भ्रष्टाचार भएको रहस्य खुलेको छ ।
चैनपुर सडक विस्तार समितिले सडक निर्माणका लागि आएको रकम भ्रष्टाचार गरेको देखिएको छ ।
चैनपुर सडक विस्तार गर्दा सहरी डिभिजन कार्यालय बैतडीले पटकपटक गरी करिब एक करोड, जिविसले १० लाख र गाविसले पाँच लाख बजेटसम्म खर्चेको भएपनि समितिले अधुरो काम गरेर रकम कुम्ल्याउने गरेको छ ।
चैनपुर सडक विस्तार समितिका अध्यक्ष कृष्ण विष्ट र समितिका केही पदाधिकारीले बाटो विस्तारको क्रममा नियमविपरीत जिल्ला प्रशासन, जिल्ला वन कार्यालय, जिविसलगायतको सरकारी जमिन पनि मासेका छन् ।
चैनपुरमा चक्रपथ विस्तार गर्ने क्रममा जग्गावालालाई मुआब्जा नदिएर रातारात डोजर प्रयोग गरी बाटो काटिएको थियो । सडक विस्तार गर्न सरकारी बजेट आएको भएपनि समितिले चक्रपथदेखि कारागारसम्मको बाटो खोल्न रु २५ हजार र जिल्ला प्रशासनदेखि पुरानो बैंकको बाटो खोल्न रु ४० हजार स्थानीय जनताबाट असुलेको थियो ।
समितिले कतै दोहोरो काम गरेर रकमको दुरुपयोग गरेको छ भने कतै अधुरो काम गरेर । अधुरो कामले गरिब किसानका खेत भत्किने सम्भावना रहेको छ ।
यसरी खुलेयाम सरकारी बजेट हिनामिना र सरकारी जग्गा नियमविपरीत मासिँदासमेत न त यहाँको प्रशासनको ध्यान नै गयो न त अख्तियार दुरुपयोग अनुसन्धान आगोगको नै ।