व्यापार घाटा कम गर्न उर्जा व्यापार सम्झौता अनिवार्य : पूर्वपरराष्ट्रमन्त्री

काठमाण्डु टुडे २०७१ साउन १४ गते १०:२९ मा प्रकाशित

काठमाण्डु , १४ साउन – परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले नेपाल र भारतबीच रहेको ब्यापार घाटा कम गर्न पनि भारतसँग उर्जा सम्झौता गर्नु पर्नेमा जोड दिएका छन् ।

fmरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा पूर्व परराष्ट्रमन्त्री एवंम नेपाली काँग्रेसकी विदेश विभाग प्रमुख सुजाता कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय विकासमा जोड दिएको र छिमेकी प्रथम भन्ने नारा अघि सारेकोले पनि उनको नेपाल भ्रमण अवसर भएको भन्दै मोदीको भ्रमणलाई अहिले २१ औ शताब्दिको सुरुवातको रुपमा अघि बढाउन नेपालले पहल गर्नुपर्ने सुझाव दिईन् ।

साक्षात्कारमा कोईरालाले नेपालले सधै माग्ने मात्र नभई छिमेकीको लागि पनि योगदान दिनसक्नु पर्ने धारणा राख्दै नेपालको बढ्दो ब्यापार घाटा कम गर्न जलविद्युतको विकास आवश्यक रहेकोमा जोड दिईन् ।

नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले नेपाल र भारतको सम्बन्ध भारतको सुरक्षाकर्मी र प्रशासनले हेर्ने गरेकोमा भारतीय प्रधानमन्त्रीको भ्रमणले राजनीतिक रुपमा हेर्ने बातावरण निर्माण भएको भन्दै यसलाई लेनदेनको भन्दा पनि सदभाव र राजनीतिक सम्बन्ध विस्तारको रुपमा लिनु पर्ने सुझाव दिए ।

उनले नेपाल–भारत सम्बन्धमा आशंका र चिन्ता पनि कायम रहेकोले यसलाई हटाउन नेपालले नेपाली भूमि कसैका विरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता ब्यवहारमै उतार्नु पर्नेमा जोड दिए ।

उर्जा सम्झौतमा ‘को–अपरेसन’ भनेकाले यसमा सबै भारतीय हितमा मात्र नभई द्धिपक्षीय हितमा भएको भन्दै आशंका हटाएर उर्जा सम्झौता गर्नु पर्नेमा जोड दिए ।
भारतलाई सवा लाख मेघावाट विद्युत आवश्यक परेको बेला भारतलाई नै विकास गर्न लगाएर उत्पादन र निकासी गर्नु पर्ने भन्दै पञ्चेश्वर परियोजना कार्यान्वयनलाई जोडदार रुपमा उठाउनु पर्ने बताए ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले नेपाल र भारतवीचको सम्बन्ध १७ वर्षदेखि उतारचढाव पूर्ण रहेकोले भारतीय प्रधानमन्त्रीको यो भ्रमण नयाँ सम्बन्ध सुरुवातको महत्वपूर्ण अवसर भएको भन्दै यसलाई राजनीतिक सम्बन्धको अध्यायको रुपमा विकास गर्नुपर्ने बताए ।

उनले भ्रमणले नै नेपालमा कायापलट गरिहाल्छ भन्ने अवस्था नरहेको दावी गर्दै नेपालले यसकोलागि आफ्नो तयारी शसक्त बनाउनु पर्ने बताए ।
बोगटीले ६ सय मेगावाट भन्दा ठूला आयोजनाहरुमा भारतीय कम्पनीहरुले लाईसेन्स लिई ओगटेर राखेपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको आरोप लगाउँदै नेपाल–भारत जलस्रोत सम्झौतामा रहेका केही बुँदाहरुलाई सच्याएर सम्झौता गर्नु पर्ने सुझाव दिए ।

उनले भने–हामीले भारतले पठाएको उर्जा सम्झौताको मस्यौदाको विरोध गरेका होईनौ । त्यसमा रहेका केही बुँदा सच्याउनु पर्छ भनेका मात्र हौ ।
बोगटीले भारतसँग उर्जा सम्झौता आवश्यक रहे पनि राष्ट्रिय स्वाभिमानलाई कायम राखेर सम्झौता गर्नुपर्नेमा जोड दिदै उर्जा सम्झौता भारतसँग मात्र नभई अरु देशसँग पनि गर्नुपर्नेमा जोड दिए ।

उनले पावर ट्रेड र उत्पादन फरक विषय भए पनि एकै ठाँउमा आएकोले आफूहरुलाई आशंका लागेको भन्दै पञ्चेश्वर लगायतका पुराना सम्झौता समेत कार्यान्वयनको कुरा जोडदार ढंगले उठाउनु पर्नेमा जोड दिए ।

पूर्व पराष्ट्रमन्त्री एवम मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल र भारतमा नयाँ परिस्थिति बनेकोले सम्बन्धलाई अघि बढाउन नयाँ मार्गचित्र तयार पार्नुपर्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय स्तरमै विकासलाई अघि बढाउनु पर्छ भन्ने मान्यता सकारात्मक रहेको बताए ।

उनले दुई देश विच बदलिदो परिस्थिति अनुसार रुपान्तरित सम्बन्धको विकास गर्नुपर्नेमा जोड दिदै भ्रमण उपयूक्त समयमा हुन लागेकोले अबको सम्बन्ध सहयोग र साझेदारीमा अघि बढाउनु पर्ने सुझाव दिए ।

नेपालको ब्यापार घाटा कम गर्ने विकल्प उर्जाको विकासमात्र भएको भन्दै भारत ठूलो बजार भएकोले परस्पर लाभको आधारमा सम्झौता गर्नु पर्ने धारणा राखे ।
यादवले सम्झौता गरेर मात्रै नभई त्यसलाई कार्यान्वयन पनि गर्नु उत्तिनै जरुरी भएकोमा जोड दिदै विगतमा भएका साना ठूला सबै सम्झौताहरुलाई कार्यान्वयनमा लाने विषयलाई नेपालले प्राथमिकताका साथ अघि बढाउनु पर्ने बताए ।

भारतको प्रस्तावमा विरोध गर्नुको साटो नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर नेपालले आफ्नो प्रस्ताव तयार पारेर छलफल गर्नु पर्ने भएपनि त्यस्तो हुन नसकेकोमा आक्रोस ब्यक्त गर्दै यादवले मध्यपहाडी लोकमार्ग, फास्ट ट्रयाक, जलविद्युतको विकासमा लगानी गर्ने प्रस्ताव राख्नु पर्नेमा जोड दिए ।

उनले नेपाल भारतवीचमा अवसर मात्र नभई सीमा लगायतका समस्या पनि रहेकोले नेपालले उपयूक्त रोडम्याप बनाएर भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई फलदायी बनाउनु पर्ने बताए ।

पूर्व परराष्ट्रमन्त्री डा प्रकाश चन्द्र लोहनीले मोदीको दृष्टिकोण सकारात्मक भएकोले नेपालले माग्ने भन्दा पनि विश्वास कायम गर्नु पर्नेमा जोड दिए । उनले नयाँ सम्झौता मात्रै गरिरहने मात्र नभई पुराना सम्झौता कार्यान्वयन गराउन पहल गर्नुपर्नेमा जोड दिदै नेपालले नयाँ एक्सन प्लान बनाएर नेपाल भारत सडक विस्तार सहितका विषयहरुलाई उठाउनु पर्ने बताए ।

उनले नेपालले माग्ने भन्दा पनि संयूक्त ट्रष्ट बनाएर सफ्ट लोन लिनु पर्ने भन्दै नयाँ उर्जा ब्यापार सम्झौता गर्नु भन्दा पनि १९९६ मा भएको सम्झौतामा उर्जा विकास, सिचाई, बाढी नियन्त्रण र जल यातायातका विषय थप गरेर पुनरावलोकन गर्नुपर्ने बताए ।

पूर्व पराष्ट्रमन्त्री डा भेषबहादुर थापाले मोदीको भ्रमणलाई लेनदेन भन्दा पनि सदभाव भ्रमणको रुपमा लिनु पर्नेमा जोड दिदै भ्रमणलाई फलदायी बनाउनु पर्ने बताए ।
उनले नेपालले राष्ट्रिय धारणा स्पष्ट पारेर कुटनीतिक अभ्यासकासाथ सहकार्यको सम्बन्धलाई अघि बढाउनु पर्नेमा जोड दिए । यद्धपि उनले एउटै भ्रमणले सवै समस्या भने हल भइ नहाल्ने पनि स्पष्ट पारे ।

उनले बिहंगम राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कुटनीतिक सम्बन्ध र अभ्यास गर्नुपर्ने बताए । नेपाल–भारतवीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन पनि आपसी विश्वास र संवादको तहलाई निरन्तरता दिन सके अझै प्रगाढ हुने थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us