रिम्पोछेको पार्थिव शरीर सर्वसाधारणका लागि दर्शन खुला

काठमाण्डु टुडे २०७१ साउन १४ गते ९:२७ मा प्रकाशित

काठमाण्डु , १४ साउन – रानीवनस्थित स्यारभन गुम्बामा १४औँ दिवङ्गत धर्मगुरु श्ह्यार कुनसिङ्ग रिम्पोछेको पार्थिव शरीर सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ ।

उनको ६२ वर्षको उमेरमा गत जेठ २८ गते जर्मनीमा हृदयघातका कारण मृत्यु भएपछि शवलाई मङ्गलबार मात्र सो स्थानमा ल्याइएको थियो ।

स्वदेशी तथा विभिन्न देशबाट आएका भक्तजन तथा सर्वसाधारणले रिम्पोछेको पार्थिव शरीरको दर्शन गर्न ठूलो घुइँचो लागेको छ । गुम्बा परिसरमा सम्बन्धित धर्मगुरुले विधि विधानपूर्वक ‘मोलाम’ पूजा गरेका छन् ।

सो पूजाअन्तर्गत प्राणिधान अथवा सम्बन्धित देवी देवतासँग संसारका सम्पूर्ण जीव जीवात्माको सुख शान्तिको कामना गरिएको छ ।

आज रातिसम्म दर्शनको व्यवस्था मिलाइएको र बिहीबार गुम्बा परिसरमा उहाँको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको गुम्बाका सदस्य दावा साङ्वो ह्युलमोपाले बताए । रिम्पोछेलाई धर्मावलम्बीले अमिताभ बुद्धको अवतारका रूपमा विश्वास गरेका छन् ।

रिम्पोछेले नेपाल, भारत र भुटानलाई विशेष कर्मथलो बनाई विश्वका विभिन्न मुलुकमा ९०० बौद्ध अध्ययन केन्द्रको स्थापना गर्नुभएको भए पनि सो गुम्बा प्रमुख केन्द्रका रुपमा विकास गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us