चितवन , १४ साउन – पूर्वी चितवनको मार्तल खोला तर्ने क्रममा खोलाले बगाएका एकजना चेपाङको ज्यान गएको छ ।
चितवन पिप्ले– ९ धमिले बस्ने वर्ष ४५ को दिलबहादुर चेपाङको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले आज जानकारी दिएको छ ।
खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका चेपाङलाई खोजतलासका क्रममा भण्डारा–२ ढुङ्ग्रे खोलास्थितमा किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
श्रीमतीसँगै बजारबाट घर जान मार्तल खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।
यसैबीच, चितवनको मङ्गलपुर–४ स्थित नारायणी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएका स्थानीय सन्दिप दाहाललाई उद्धार गरिएको प्रहरीले बताएको छ ।
नदीले बगाएको भन्ने खबर प्राप्त भएपछि चितवनको चनौलीबाट प्रहरी र नेपाली सेना राजीव गणको टोलीले खोजतलासका क्रममा चित्रवन नगरपालिका– ८ गोबे्रनीबाट उनलाई सकुशल उद्धार गरेको छ । रासस