काठमाण्डु, १४ साउन –वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि उत्पन्न समस्या समाधानका लागि सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति सहित पदाधिकारी नियुक्ति गर्न तत्परता देखाएको छ ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले मंगलबार उपकुलपति सिफारिस समितिका सदस्य र सरोकारवालासंग यसबारे छलफल गर्नुभएको थियो । यसबारे बुधबार समितिको बैठक बसी टुंगो लगाउने तयारी भएको श्रोतले जनाएको छ । उपकुलपति तथा प्रतिष्ठानका पदाधिकारी चयनपछि आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधनका लागि आवश्यक प्रक्रिया अघि बढ्न सहज हुने सरकारले अपेक्षा गरेको छ ।
प्रतिष्ठानका पदाधिकारी नियुक्तिमा सक्रियता देखाएपनि वीर अस्पतालका आवासीय चिकित्सकले राखेका अरु माग भने तत्काल पूरा गर्न नसकिने स्वास्थ्य मन्त्रालय श्रोतले जनाएको छ । चिकित्सकहरुले राखेका आवासको माग थप संरचना नबनाइकन पूरा गर्न नसकिने र उपकरणका लागि पनि प्रक्रियागत ढंगले जाँदा समय लाग्ने भएकाले आन्दोलन रोक्न मन्त्रालयले आग्रह गरेको छ ।
तर आन्दोलनरत चिकित्सकहरुले भने उपकुलपति र पदाधिकारी नियुक्त हुनु सकारात्मक भएपनि काम गरेर देखाउन नसक्ने व्यक्ति आए आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । आवासीय चिकित्सक संघका अध्यक्ष मंगल रावलले राजनीतिक भागबण्डा र वरिष्ठताका आधारमा आएका पदाधिकारीले काम गर्ने आधार सिद्धिसकेको भन्दै अस्पतालको हितमा काम गर्ने जो सुकैलाई ल्याएपनि आफूहरुलाई आपत्ति नहुने बताए ।
पदाधिकारी नियुक्तिपछि दिक्षान्त समारोहको मिति तोक्ने र आवासको व्यवस्था मिलाउने माग तत्काल पूरा गर्न सकिने उहाँको भनाई छ । सिटि स्क्यान लगायतका आवश्यक उपकरण अस्पतालमा ल्याउनका लागि फास्ट ट्रयाकबाट जान सकिने र ढिलोमा ३५ दिन भित्र नयाँ उपकरण ल्याउन सकिने रावलले दावी गरे । आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि वीर अस्पतालमा चार दिनदेखि उपचार सेवा प्रभावित भएको छ ।