भक्तपुर, १४ साउन– आर्थिक अभावका कारण लोप हुदै गएको प्रसिद्ध गुँला पर्व यस वर्ष मध्यपुरथिमिमा सुरु भएको छ ।
गुँला बाजा बजाउनका लागि रकम नभएपछि गत वर्ष अति आवश्यक बाजाबिना नै मनाइएको पर्व यस वर्ष भने मध्यपुरथिमि नगरपालिकाले रु ५० हजार आर्थिक सहयोग गर्ने भएपछि सबै बाजासहित पर्व सुरु भएको मध्यपुर थिमि नगरपालिका–१० का तेजबहादुर शङ्खदेवले जानकारी दिए ।
गुँला पर्व लोप हुन नदिन मध्यपुरथिमि नासननीका बासिन्दाले सक्रियतामा यो पर्व सुरु भएको उहाँले बताउनुभयो । गुँला पर्वको अवसर पारेर बज्राचार्य समुदायले सञ्चालन गर्दै आएको पर्व बाजालाई प्रजापति समुदायले पनि आफ्नै बाजागाजासहित सुरु भएको यो पर्व भदौ १० गतेसम्म सञ्चालन हुनेछ ।
हरेक दिन दुईदेखि ३०० धर्मावलम्बीको सहभागिता रहने गुँला बाजाले प्रत्येक बिहान नगरका विभिन्न मठमन्दिर, बौद्ध विहार र चैत्य परिक्रमा गरेर विशेष पूजाआजाका साथ मनाइन्छ । यो पर्वको एक महिनाको अवधिमा नागपञ्चमीका दिन चाँगुनारायण, पारुका दिन भक्तपुर सहरको विभिन्न मठमन्दिर, देवालय र विहारको परिक्रमा गरिन्छ ।
त्यस्तै गाईजात्रा सापारुका दिन ललितपुरस्थित कुम्भेश्वर मन्दिर, काठमाडौँको स्वयम्भू, शोभा भगवती, गणबहालको सेतो मच्छिन्द्र्रनाथ र अन्तिम दिन ललितपुरको बुङ्मती, खोकना, कीर्तिपुरको जलविनायक र चोभारको आदित्यनाथ मन्दिरमा गएर विशेष पूजाआजा गरी सम्पन्न गरिन्छ ।
हरेक वर्ष चर्तुमासभित्रको गुँला परम्पराको एक महिनासम्म मनाइने गुँला धर्म बाजागाजामा आर्थिक अभावका कारण गत वर्ष कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाएको थियो ।
यस वर्ष भने मध्यपुरथिमि नगरपालिकाले दैनिक तीनजनाको दरले एक महिनाका लागि करिब रु ५० हजार सहयोग दिने भएपछि गुँला बाजा सञ्चालन ल्याएको स्थानीय चन्द्रकृष्ण ग्वङ्ग प्रजापतिले जानकारी दिए ।
एक महिनाको अवधिमा करिब रु तीनदेखि रु चार लाखसम्म खर्च हुने बताउँदै स्थानीय सञ्चारकर्मी रामकृष्ण शङ्खदेवले नगरपालिका र अन्य निकायले संस्कृति जोगाउन आर्थिक सहयोग गरेर संस्कृति जोगाउनुपर्ने बताए ।