काठमाण्डु, १३ साउन– प्रमुख तीन दल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणका बेला जलविद्युत विकास सम्झौता गर्न तयार भएका छन् ।
मोदी भ्रमणको तयारीबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठकले सम्झौता गर्ने निर्णय गरेको हो ।
जलविद्युत सम्झौताबारे भारतीय पक्षले पठाएको प्रस्तावमा अध्ययन गरी थपघटसहित सहमति जुटाउन तीन दलबा६ एकएक जना सदस्य रहने गरी समिति गठन गरिने भएको छ । समितिमा काँग्रेसबाट केन्द्रीय सदस्ए एवम् अर्थमन्त्री रामशरण महत, एमालेबाट उपाध्यक्ष भीम रावल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।
समितिलाई सम्झौता सम्बन्धमा सम्वद्ध पक्षसँग छलफल गरी सहमति जुटाउने जिम्मेवारी दिइएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री कृष्ण सिटौलाले दलहरुबीच सहमति भएकाले मोदी भ्रमणमकै बेला जलविद्युत सम्झौतामा हस्ताक्षर हुने जानकारी दिए ।
एमाले वरिष्ठ नेता झलनाथ खनालले मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै जलविद्युत सम्झौता गर्ने सहमतिमा आफूहरु पुगेको बताए ।