३४ वर्ष पुरानो विद्युत् गृह सुचारु

काठमाण्डु टुडे २०७१ साउन १३ गते ११:२९ मा प्रकाशित

बागलुङ, १३ साउन – बन्द भएको सात वर्षपछि धवलागिरिकै पहिलो जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–५ गौँडाकोटस्थित कोठेखोला जलविद्युत् गृह मर्मतपछि सञ्चालनमा आएको हो ।

विसं २०३७ मा निर्मित उक्त आयोजना २०६४ मा बाढी पहिरोले क्षति पुर्‍याएपछि बन्द अवस्थामा थियो । दुई सय किलोवाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणले मर्मत गरेको हो । मर्मत र थप उपकरण जडान गरिएपछि विद्युत् उत्पादन पनि बढेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले बताए ।

मर्मतपछि तत्कालै १०० किलोवाट विद्युत् उत्पादन भएको र केही दिनभित्रै १८० किलोवाट उत्पादन हुने प्रमुख यादवले जानकारी दिए । सुरुमा बागलुङ बजारलाई लक्षित गरी बनाइएको उक्त आयोजना २२५ किलोवाट क्षमताको भएपनि २०५२ सालदेखि २०० किलोवाट मात्रै उत्पादन हुँदै आएको थियो ।

पहिलेको उपकरण बिग्रिएपछि नयाँ २०० किलोवाट क्षमताको उपकरण जडान गरिएको थियो । जलविद्युत् गृह बन्द हुँदा प्राधिकरणलाई बर्सेनि ५५ लाखभन्दा बढी घाटा हुँदै आएको थियो । विद्युत्गृह मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणसँग २४ लाख माग भएकोमा १९ लाख ५० हजारमा मर्मत सम्पन्न भएको यादवले जानकारी दिए ।

यसअघि नै केन्द्रीय प्रसारण लाइनमा जोडिएकाले विद्युत् बिक्रीका लागि समस्या नभएको प्रमुख यादवले बताए । विद्युत्गृहको पूर्ण मर्मतका लागि रु ४८ लाख लाग्ने भएपनि प्राधिकरणले विद्युत् उत्पादन गर्दै मर्मत गर्ने नीति बनाएकाले तत्काल सानो रकममा मर्मत गरेर सञ्चालनमा ल्याइएको जनाइएको छ ।

वर्षौं पुरानो आयोजना भएकाले उपकरण पनि पुराना भएको र कुलो तथा खोलाको बाँध पनि जीर्ण भएर बिग्रिएकाले त्यसलाई मर्मत गरेर विद्युत् उत्पादन क्षमता बढाउँदै लगिने प्राधिकरणले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us