काठमाण्डु , १३ साउन – राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेनाको अर्जुनवाण गणका २५० जनाको थप फौज सोमबार राति दक्षिण सुडानका लागि प्रस्थान गरेका छन् ।
यही साउन ४ गते २५० जना नेपाली सैनिक त्यसतर्फ गइसकेका सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ । विसं २०७० पुस २५ गतेको मन्त्रिपरिषद्को बैठकले दक्षिण सुडानमा शान्ति सैनिक खटाउने निर्णय गरेको थियो ।
निर्देशनालयले नेपालबाट शान्ति सेनामा सहभागी भइरहेका शान्ति सैनिकको कुल सङ्ख्या चार हजार ३४२ पुगेको, दक्षिण सुडानमा मात्र महिलाको सङ्ख्या ३४ रहेको र सबै मिसनमा गरी जम्मा ८६ जना महिला शान्ति सेनामा सहभागी जनाएको छ ।
हालसम्म नेपालको तर्फबाट राष्ट्र सङ्घ मातहत तैनाथ हुने शान्ति सैनिकको सङ्ख्या एक लाख तीन हजार ७३३ पुगेको छ ।