काठमाण्डु , १३ साउन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका क्रममा नेपाली काँग्रेससँग भएको सात बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
स्वास्थ्य उपचार गरी सिङ्गापुरबाट मङगलबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भने , “सात बुँदे सहमति दराजमा थन्काउन गरिएको होइन, कार्यान्वयनका लागि गरिएको हो । एमाले यसको तत्काल कार्यान्वयनको पक्षमा छ ।”
काँग्रेस र एमालेबीच गत माघ २६ गते भएको सात बुँदे सहमतिअनुसार वर्तमान सरकार गठन भएको हो । सो सहमतिमा वर्तमान राष्ट्रपति÷उपराष्ट्रपतिलाई संविधानसभाले अनुमोदन गर्ने र एक वर्षपछि राष्ट्रपति – उपराष्ट्रपतिको नयाँ निर्वाचन गर्ने उल्लिखित छ । त्यसका लागि नेपालको अन्तरिम संविधान, २०६३ मा संशोधन गर्नुपर्ने हुन्छ ।
एमालेमा अध्यक्ष निर्वाचित भएदेखि नै ओलीले सो सहमतिको कार्यान्वयनका लागि पार्टीको अडान दोहो¥याउँदै आएका छन् ।
उनले संविधानसभामा २६ जना सभासद्को मनोनयन पनि निकट भविष्यमै हुने बताए ।
सिङ्गापुरस्थित नेसनल युनिभर्सिटीका चिकित्सकले स्वास्थ्यमा थप समस्या नभएको र फर्कन सक्ने जनाएपछि आफू फर्केको ओलीले जानकारी दिए ।
अध्यक्ष ओली फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिङ्गापुर गएका थिए ।
उनको स्वागतका लागि उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, नेताहरू भरतमोहन अधिकारी, कर्णबहादुर थापा, डा. राजन भट्टराईलगायत विमानस्थल पुगेका थिए ।