भिडियो एक्सरे बापत मनपरी शुल्क

काठमाण्डु टुडे २०७१ साउन १३ गते ६:१० मा प्रकाशित

झापा, १३ साउन – झापाका अस्पताल र निजी क्लिनिकमा नियमित अनुगमन नहुँदा भिडियो एक्सरे गरेबापत ती स्वास्थ्य संस्थाले मनपरी शुल्क लिइरहेका छन् ।

ती स्वास्थ्य संस्थाले भिडियो एक्सरे गरेबापत ५०० देखि ८४० सम्म शुल्क असुलिरहेको पीडितहरु बताउँछन् । भद्रपुरको मेची अञ्चल अस्पतालले न्यूनतम ५०० मा भिडियो एक्सरे गर्ने गरेको छ भने विर्तामोडको बजरङ्ग मेडिकलले करसहित ८४० लिने गरेको छ ।

झापाका अधिकांश अस्पतालमा रेडियोलोजी डाक्टरको अभाव रहेको छ । जनशक्ति कम हुनाले एक जनाले तीनदेखि चार वटा अस्पतालमा काम गर्नुपर्ने बाध्यता रहेको छ ।

बिरामीलाई आकस्मिक रुपमा भिडियो एक्सरे गर्नु परे चिकित्सकको समय हेरेर मात्र अस्पताल लानुपर्ने अवस्था छ, नाम चलेका अस्पतालमा पनि २४सँै घन्टा सेवा उपलब्ध हुने गरेको छैन तर शुल्क भने चर्को लिने गरेका छन् चन्द्रगढीका सुरेन्द्र मैनाली भन्छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गोपी घिमिरेले अस्पतालले दिने सेवा र लिने शुल्कका विषयमा अनुगमन गर्ने अधिकार भएपनि प्राविधिक ज्ञाताको अभावमा समस्या भएको बताए ।

झापाको पाथिभरा अस्पतालले ७५०, भद्रपुर मेची अञ्चल अस्पताल नजिकैको क्लिनिकमा रु ६००, विर्तामोडको मेडिकल अस्पतालले ८००, बिर्ता सिटीले ८०० र कान्तिपुर मेडिकलले भिडियो एक्सरे गरेबापत ८४० लिने गरेका छन् ।

जिल्लामा सञ्चालित दुई दर्जनभन्दा बढी अस्पताल र क्लिनिकले यसैगरी जथाभावी रकम असुलिरहेका छन् । प्रायः क्लिनिकले स्वास्थ्य सेवा शुल्कका नाममा पाँच प्रतिशत अतिरिक्त शुल्क पनि असुलिरहेका छन् । सरकारले निश्चित मूल्य नतोक्दा स्वास्थ्य संस्थालाई जथाभावी असुल्न सहज भएको हो ।

मेची अञ्चल अस्पतालका रेडियोलोजिस्ट सञ्जय गुप्ताले अस्पतालले अलगअलग सेवा उपलब्ध गराउने कारणले भिडियो एक्सरेको शुल्क पनि फरक भएको बताए । गुप्ताले भने, “अस्पतालको गुणस्तरअनुसारको शुल्क लिइने गरिएको छ ।”

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहताले सरकारले भिडियो एक्सरेको दर नतोक्दा विकृति मौलाएको जनाए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us