धादिङ , १३ साउन– सदरमुकामस्थित नीलकण्ठ नगरपालिका ३ की एक महिलालाई उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् ।
उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई गएराति सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका हुन् ।
‘पहिला कुटे, त्यसपछि लगाइराखेको लुगा च्याते । घाँटीमा लगाएको तिलहरी र गहना पनि लुछे । घरबाट निकालेर लुगासमेत लगाउन दिएनन्’ पीडित महिलाले रुँदै भनिन् ।
राति नाङ्गै घरबाट निकालेपछि महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जालको शरणमा पुगेकी राधाको उजुरीको आधारमा अभियुक्त ढकाललाई प्रहरीले राति नै गिरफ्तार गरी हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए ।
पीडितलाई महिला अधिकारकर्मीले सुरक्षाघरमा राखेका छन् । रासस