काठमाण्डु , १३ साउन – नेपाली काँग्रेसको पदाधिकारी बैठकले आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई राष्ट्रिय हितमा अधिकतम उपयोग गर्न सुझाव दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङगलबार बसेको काँग्रेस पदाधिकारी बैठकमा मोदीको नेपाल भ्रमणका सम्बन्धमा सरकारले गरेका तयारीबारे जानकारी गराइनुका साथै त्यसलाई प्रभावकारी बनाउन सुझाव दिएको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सञ्चारकर्मीलाई जानकारी दिए ।
बैठकमा मोदीको भ्रमणका अवसरमा भारत सरकारलाई ऊर्जा, अन्तर्राष्ट्रिय प्रसारण लाइनको निर्माण र कुनै बृहत् परियोजना सञ्चालनार्थ सहयोगका लागि सरकारले आग्रह गरोस् भन्ने विषयमा छलफल भएको थियो ।
पदाधिकारी बैठकमा पार्टीको साङ्गठनिक संरचना र महाधिवेशनका सम्बन्धमा समेत छलफल भएको एवम् मोदीको नेपाल भ्रमणपछि केन्द्रीय समितिको बैठक बसी उक्त विषयमा टुङ्गो लगाउने निचोड निकालिएको उनले बताए ।
प्रवक्ता बडुले भने , “लामो समयदेखि थाँती रहेका संविधानसभाका समितिका सभापतिको चयनका लागि अन्य पार्टीसँग बसेर छिट्टै निर्णयमा पुग्ने विषयमा छलफल भयो । साथै विभिन्न निकाय र सरकारी सङ्घसंस्थामा रिक्त रहेका नियुक्तिका सम्बन्धमा पनि संयुक्त सरकारको भावनाअनुसार गृहकार्य गरी टुङ्गोमा पुग्ने विषयमा छलफल भयो ।”
बैठकमा सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव र प्रवक्ता दिलेन्द्रप्रसाद बडु उपस्थित थियो ।