इदका अवसरमा नेताहरुबाट शुभकामना व्यक्त

काठमाण्डु टुडे २०७१ साउन १३ गते १:२५ मा प्रकाशित

काठमाण्डु, १३ साउन– राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले मुस्लिम समुदायको पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीमा शुभकामना दिएका छन् ।
राष्ट्रपति रामवरण यादवले स्वदेश तथा विदेशमा रहेहका समस्त नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले    मुलुकका विभिन्न समुदाले मनाउने पर्वले नै नेपालको पहिचान बोकेको भन्दै सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै आपसी एकता, शान्ति, सद्भाव र सहयोग एवम् भाइचारा अभिवृद्धि गर्नका निम्ति इद उल फित्रले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उपराष्ट्रपति परमानन्द झाले देशविदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले विभिन्न जाति, धर्म, संस्कृति, वेशभूषा र भाषिक विविधता भएका नागरिकको बसोबासले नै नेपाल रमणीय बनेको र  नेपालीमा रहेको सहिष्णुता, सहयोगी भावना र भातृत्वको भावले विविधता रहेका जातजाति, धर्म, भाषा र सम्प्रदायका नागरिकका बीचमा कायम भएको सद्भावले मुलुकमा शान्ति स्थापना गर्न सहयोग गरेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले धार्मिक र सांस्कृतिक चाड पर्वले राष्ट्रिय एकता सबल बनाउन, समाजमा सद्भाव कायम गर्न र आर्थिक सामाजिक विकासलाई अगाडि बढाउन सघाएको बताउँदै रमादानको अन्त्यमा मनाइने इद उल फित्र को पनि आफ्नै महत्व रहेको जनाएका छन् ।

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इदका अवसरमा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको अधिकार सुनिश्चित गर्न तथा महिला, दलित, मुसलमानको विशेषाधिकारसहितको संविधान निर्माणका लागि ऊर्जा मिलोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले सम्पूर्ण नेपाली मुसलमान समुदायमा सुख, शान्ति र समृद्विका लागि  शुभकामना व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us