खोटाङ, १२ साउन– यातनाबाट प्रहरी हिरासतमै ज्यान गुमाएकाका परिवारले डिएसपीसहित ११ जनाविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगसमक्ष मुद्दा दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा यातनाका कारण मृत्यु भएका पाथेका–२ का १८ वर्षीय किरण राईका परिवारले आयोगमा मुद्दा दायर गरेका हुन् ।
प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मृतकका बाबु वुद्धिबहादुरले सोमबार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा घटनामा संलग्नमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिएको छ ।
उजुरीमा खोटाङ प्रहरी प्रमुख नायब उपरीक्षक राजिव बस्नेत, निरीक्षक रमेश देवलगायतलाई विपक्षी बनाइएको छ । हत्या अभियोगमा २०७० जेठ २८ मा पक्राउ परेका राईको २०७० असार २६ मा यातनाका कारण हिरासतमा ज्यान गएको थियो ।
मानवअधिकार आयोगले घटनामा संलग्नमाथि मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम बारबाही गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।