इलाम, १२ साउन– पूर्वी पहाडमा सशस्त्र भूमिगत गतिविधि सञ्चालन गर्दै आएका जातीय समूह शान्तिपूर्ण राजनीतिमार्फत संविधान निर्माणमा सघाउन तयार भएका छन् ।
संविधानसभा राजनीतिक संवाद तथा सहमति समिति मातहतको वार्ता उपसमितिले आइतबार र सोमबार गरेको वार्तामा ती समूहले हतियार बिसाएर शान्तिपूर्ण रानीतिमा आउने प्रतिबद्धता जनाएका छन् ।
सभासद आन्नद ढुंगाना नेतृत्वको उपसमितिले लिम्बूवान राज्यको माग गर्दै पूर्वी तराईमा सशस्त्र हिंसात्मक गतिविधि गर्दै आएका किराँत जनवादी वर्कर्स पार्टी (अनन्त समूह) स्टेटप फोर्स लिम्बुवान, संयुक्त जातीय मुक्ति मोर्चा, संजुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद् र किँरात जनवादी वर्कर्स पार्टी विद्रोहीसहित सात समूहसँग इलाम सदरमुकाममा छुट्टाछुट्टै वार्ता गरेको हो ।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसमिति संयोजक आनन्दप्रसाद ढुंगानाले वार्ता फलदायी भएको प्रतिक्रिया दिए । उनले वार्तामा सहभागी सबै समूहले सशस्त्र गतिविधि परित्याग गर्दै संधिवान निर्माणमा सघाउने प्रतिबद्धता जनाएको बताए ।
‘वार्ता निकै फलदायी भएको छ’, ढुंगानाले भने, ‘सबै समूहले शान्तिपूर्ण राजनीतिमार्फत संविधान निर्माणमा सघाउने प्रतिबद्धता जनाएका छन् ।’ उनले वार्तामा सशस्त्र समूहले उठाएका माग र भएका सहमतिलाई राजनीतिक संवाद समितिमा पेश गर्ने बताए ।
यस्तै उपसमतिले विभिन्न समयमा पक्राउ परेका सशस्त्र समूहका कार्यकर्ता रिहाइका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
संविधानसभाबाहिर रहेका दल र समूहलाई समेत संविधान निर्माण प्रक्रियामा सहभागी गराउने उद्देश्यले वार्ता थालेको उपसमितिले यसपछि पूर्व तराईका सशस्त्र समूहसँग जनकपुरमा र पश्चिमका समूहसँग नेपालगञ्जमा वार्ता गर्ने जनाएको छ ।