काठमाण्डु , १२ साउन – नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा आफुहरुले विरोध नगर्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने–मित्र राष्ट्रको प्रधानमन्त्री आउँदा हामी विरोध गर्दैनौ । हामीले विरोधका कार्यक्रम पनि राखेका छैनौ र राख्दैनौ पनि ।
साक्षात्कारमा गजुरेलले आफूहरु विरोध भन्दा पनि भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न ईच्छुक भएको भन्दै विदेश मन्त्री सुष्मा स्वराजसँग वार्ता गर्न चाहे पनि उहाँले किन बार्ता गर्न चाहनु भएन भनेर आफूहरु आश्चर्यमा परेको बताए । उनले भने–भारत सरकारको हामीसँग वार्ता गर्ने के नीति छ, त्यसमा पनि भर पर्छ । तर हामी भने वार्ता गर्न सधैं तयार छौं ।
उनले विदेशमन्त्री स्वराज आउँदा समेत आफूहरुले विरोध नगरेको स्पष्ट पार्दै अब भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्न आफुहरु तयार भएर बसेको बताए । गजुरेलले भने– पशुपतिनाथको दर्शन गर्न आउने भारतीय प्रधानमन्त्रीलाई विरोध होईन, हामी स्वागत गर्न चाहन्छौँ ।
उनले आफूहरु भारत विरोधी नभएको र भारत विरोधी भनि प्रचार नगर्न आग्रह गर्दै भारतीय सरकारसँग केही असहमति रहे पनि भारतीय जनता र राजनीतिक दलहरुसँग भने राम्रो सम्बन्ध रहेको दावी गरे ।
सन् १९५० को नेपाल भारत सन्धी पुनरावलोकन गर्ने कुरा सकारात्मक रहे पनि यसको कार्यान्वयन हेर्न बाँकी रहेको उल्लेख गर्दै गजुरेलले पानी र विद्युतमा नेपालीको अधिकार रहने गरी सम्झौता हुँदा आफूहरुलाई कुनै आपत्ति नरहेको बताए ।
उनले भने– हामी पनि नेपालको हितमा जलस्रोत सम्झौता होस भन्ने चाहन्छौ । पानी र विद्युतमा नेपालीको अधिकार स्थापित हुनु पर्छ । नेपाली जनता अझै लोडसेडिङको मारमा बस्नु पर्छ भन्ने हामी पनि चाहँदैनौ । यी विषयमा राष्ट्रिय सहमति गरेर अघि बढ्नु पर्छ । यसको लागि हामी तयार छौ ।
अहिलेको संविधानसभाबाट जनताको संविधान आउन नसक्ने दावी गर्दै उनले आईहाले पनि २०४७ सालकै संविधान आउने दावी गरे ।
गजुरेलले चिन भारत, अमेरिका र यूरोपीयन यूनियनको कारण संविधानसभाको निर्वाचन भएकोले उनीहरुकै कारण संविधान पनि आउन सक्ने भन्दै जनताको संविधान भने आउन नसक्ने बताए ।
एकीकृत नेकपा माओवादीसँगको कार्यगत एकता नटुट्ने स्पष्ट पार्दै उनले प्रचण्ड र बाबुराम भट्टराईको विवादमा आफूहरु नफस्ने बताए ।
उनले पार्टी भित्रका विवाद पनि समाधानको चरणमा रहेको र अब विशेष महाधिवेशनबाट सबै समस्या समाधान हुने ठोकुवा गरे ।