२० वर्षमा पनि बनेन गाईघाट–दिक्तेल सडक

काठमाण्डु टुडे २०७१ साउन १२ गते ८:४३ मा प्रकाशित

खोटाङ, १२ साउन – उद्घाटन गरिएको २० वर्ष बितिसक्दा पनि गाईघाट–दिक्तेल सडक व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको छ । सप्तरीको कदमाहा र उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ जोड्ने सडक अहिलेसम्म व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या भएको हो ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उदयपुरको बोक्सेमा उद्घाटन गरेर निर्माण कार्य थालिएको उक्त सडक अहिलेसम्म पनि सदरमुकाम गाईघाटबाट ३७ किमिभन्दा बढी व्यवस्थित हुन सकेको छैन ।

नेपाल सरकार तथा सडक डिभिजन कार्यालय लहानको प्रत्यक्ष संलग्नतामा निर्माण कार्य सुरु भएको उक्त सडक अहिलेसम्म व्यवस्थित हुन नसक्दा उदयपुरदेखि पहाडी क्षेत्रसम्म सञ्चालन हुने यातायातका सवारीसाधन हिउँदमा मात्र सञ्चालन हुने गरेको छ ।

वर्षायाममा बन्द हुने उक्त सडक बाह्रै मास सञ्चालनमा ल्याउन सम्बन्धित निकायले चासो नदिएको यातायात व्यवसायीको आरोप छ । सदरमुकाम गाईघाटबाट पहाडी गाविस आँपटारको फोक्सिङ्टारसम्म कच्ची सडकका रुपमा निर्माण भएको गाईघाट–दिक्तेल सडकखण्डमा अहिलेसम्म ग्राभेलिङ हुन नसक्दा सो क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना सवारीका साधन जोखिम मोलेर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको खोटाङ यातायात व्यवसायी सङ्घका महासचिव राजकुमार राईले बताए ।

उनले भने , “यसबारे सम्बन्धित निकायमा पटक–पटक आग्रह गर्दासमेत सुनुवाइ भएन ।”

उदयपुरको आँपटार गाविसको फोक्सिङ्टार क्षेत्रभन्दा अगाडि सडक निर्माण कार्य बढ्न नसकेपछि सडक निर्माण कार्यसमेत अधुरो अवस्थामा रहेको स्थानीयको भनाइ छ । उदयपुरको खाँबु गाविसको छामलिङ क्षेत्रमा सबैभन्दा बढी सडक भत्किएर जीर्ण अवस्थामा रहेको खाँबु–६ का स्थानीय वीरबहादुर खत्रीले बताए ।

उक्त सडक सञ्चालनमा आए खोटाङका व्यापारी तथा सर्वसाधारणका लागि तराई जाने सबैभन्दा छोटो मार्ग हुन्छ । तर, २० वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नभएपछि पैदल यात्रा गरेर तराईका जिल्लाहरु पुग्नुपर्ने बाध्यता छ ।

मुख्य गरेर खोटाङको सदरमुकाम दिक्तेलसम्म लक्षित गरेर निर्माण सुरु गरिएको १५७ किलोमिटर लम्बाइको उक्त सडकखण्ड निर्माण हुन नसक्दा अहिले खोटाङको तल्लो क्षेत्रका ४० गाविसका डेढ लाख जनताले सास्ती भोग्नुपरेको फाक्टाङ–४ का पूर्णप्रसाद सुवेदीले जानकारी दिए ।

देशमा २० वर्षभित्र ठूला–ठूला परिवर्तन भइसके पनि उक्त सडकखण्ड भने अहिले पनि जस्ताको तस्तै रहेको खाँबु उच्चमाविका प्राचार्य कुलबहादुर खत्रीको भनाइ छ । राज्यको उचित ध्यान जान नसक्दा अहिलेसम्म पनि उक्त सडकखण्ड निर्माण कार्य सम्पन्न हुन नसकेको यस क्षेत्रका जनताको धारणा छ ।

सडक निर्माण कार्यलाई अगाडि बढाउँदै भत्किएका सडकखण्डसमेत मर्मत गर्न पर्ने यातायात व्यवसायी बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us