
नवलपरासी, १२ साउन– नवलपरासीको डण्डास्थित मध्यबिन्दु सामुदायिक अस्पतालको आकस्मिकसहित सबै उपचार सेवा ठप्प भएको छ ।
अस्पताल सञ्चालक समिति अध्यक्ष महेन्द्र पोखरेल र सह–सचिव बालकृष्ण घिमिरेले चिकित्सक किरण सोतीलगायतका कर्मचारीमाथि अभद्र र अशिष्ट शैलीमा गालीगलौज गरेको भन्दै स्वास्थ्यकर्मी उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।
पोखरेल र घिमिरेले टेलिफोनबाट आफूलाई धम्काएको चिकित्सक सोतीले बताए । ‘ड्युटीबाहिर रहेका बेला फोनमा तथानाम गाली गरियो’, सोतीले भने, ‘पेसागत मर्यादामै आँच आउने गाली भएकाले बाध्य भएर स्वास्थ्य सेवा नै बन्द गर्नुपरेको हो ।’
राति १२ बजेदेखि सबै सेवा बन्द गरेर कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पतालमा रहेका बिरामीसमेत मारमा परेका छन् । कर्मचारीले अस्पतालमा भर्ना भएका आठजना बिरामीलाई डिस्जार्ज गरी अर्कै अस्पताल पठाइदिएका छन् ।