काठमाण्डु, १२ साउन– वीर अस्पतालका आवासीय चिकित्सकहरु कामै छाडेर आन्दोलनमा उत्रिएपछि बिरामी मारमा परेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) मा सुधारको माग गर्दै आज पनि हड्तालमा उत्रिएका एमडी/एमएस अध्ययनरत आवासीय चिकित्सकहरु आज पनि काममा फर्केका छैनन् ।
एक सातादेखि आन्दोलनरत चिकित्सकले अस्पतालमा एमआरआई र सिटिस्क्यान लगायतका उपकरण व्यवस्था गरिनुपर्ने, आवासीय चिकित्सकलाई बस्ने ठाउँ व्यवस्था गरिनुपर्ने, प्रतिष्ठानको दिक्षान्त समारोह गरिनुपर्ने र रिक्त दरबन्दीमा चिकित्सक र कर्मचारीको पदपूर्ति गरिनुपर्ने माग अघि सारेका छन् ।
वीरका निमित्त निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले चिकित्सकहरुको हड्तालका कारण सेवा प्रभावित नहुने बताए । वीरमा करिब दुई सय आवासीय चिकित्सक कार्यरत छन् ।