संयुक्त जातीय मोर्चासँग तीन बुँदे सहमति

काठमाण्डु टुडे २०७१ साउन १२ गते ८:४४ मा प्रकाशित

इलाम, १२ साउन – संवैधानिक राजनीतिक संवाद तथा सहमति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमिति र संयुक्त जातीय मुक्ति मोर्चा नेपालबीच सोमबार तीन बुँदे सहमति भएको छ ।

इलामको चियाबारी कटेजमा बिहानैदेखि सुरू भएको वार्तामा मोर्चाले शान्तिपूर्ण राजनीतिमा अग्रसर हुँदै संविधान निर्माण प्रक्रियामा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ ।

यस्तै मोर्चाबाट उठाइएका संविधानसम्बद्ध विषयवस्तुहरू संवैधानिक राजनीतिक समितिसमक्ष प्रस्तुत गर्न उपसमितिले विश्वास दिलाउने र मोर्चाका बन्दी, कार्यकर्ता र उनीहरूसम्बद्ध मुद्दाहरूको विवरण सरकारसँग उपलब्ध गराएर समस्या समाधान गर्न उपसमितिले सरकारसामु पहल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

मोर्चाका तर्फबाट अविरल र प्रारम्भिक वार्ता उपसमितिका तर्फबाट संयोजक आनन्दप्रसाद ढुङ्गानाले हस्ताक्षर गरेका थिए ।

वार्ता बिहान ९ बजेदेखि सुरू भएको हो । अहिले सङ्घीय लिम्वुवान राज्य परिषद् (सञ्जुहाङ पालुङवा पक्षधर)सँग उपसमितिले वार्ता गरिरहेको छ ।

वार्तामा बोलाइएकामध्ये पल्लोकिराँत सहभागी नभएको वार्ता टोलीका सदस्य आरके खम्बुले जानकारी दिए ।

संविधानसभा बाहिर र भित्र रहेका दलसँग सुझाव संकलन गर्दै संविधान निर्माणमा अधिकतम सहमति जुटाउने प्रयासमा उपसमितिले वार्ता थालेको हो ।

उपसमतिले यसपछि तराईमा सशस्त्र भूमिगत गतिविधि गर्दै आएका विभिन्न समूहसँग जनकपुर र नेपालगञ्जमा वार्ता गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us