मोदी भ्रमणबारे प्रमुख तीन दलबीच छलफल

काठमाण्डु टुडे २०७१ साउन १२ गते ५:५२ मा प्रकाशित

काठमाण्डु, १२ साउन– प्रमुख तीन राजनीतिक दलबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको तयारीबारे modiछलफल भएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाको आह्वानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताकाे बैठकमा मोदी भ्रमणका एजेण्डाबारे छलफल भएको हो ।

बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीले मोदी भ्रमणबारे सरकारी तहबाट भएको तयारीका विषयमा छलफल भएको जानकारी दिए । मंगलबार बस्ने तीन दल बैठकमा प्रधानमन्त्रीले सम्वद्ध पक्षले गरिरहेको तयारीबारे तीन दलका शीर्ष नेतालाई जानकारी गराउने उनले बताए ।

‘मोदी भ्रमणको तयारीबारे कुराकानी भयो’, बोगटीले भने, ‘भोलि बस्ने बैठकमा प्रधानमन्त्रीले ठोस रुपमा प्रस्ताव ल्याउने कुरा भएको छ ।’

यस्तै बैठकले प्रमुख दलबीच भएको चारबुँदे सहमति कार्यान्वयनका लागि राजनीतिक समिति गठन गर्ने सहमति गरेको उनले जनाए । त्यसका लागि सबै दलले आन्तरिक गृहकार्य गरी छिट्टै नाम दिनेछन् ।

तीन दलबीच संविधान निर्माणका असहमतिका विषयमा सहमति जुटाउन छलफल अघि बढाउने सहमति पनि भएको छ ।

यस्तै बैठकमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित संविधानसभा बाहिर रहेका शक्तिहरुसँग छलफल गरी उनीहरुलाई संविधान निर्माण प्रक्रियामा सहभागी राउने विषयमा समेत छलफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us