सभासदका आ–आफ्नै चिन्ता

काठमाण्डु टुडे २०७१ साउन ११ गते ८:०४ मा प्रकाशित

काठमाण्डु , ११ साउन – व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा समय माग गर्दै आरजु राणा देउवाले पशुपति क्षेत्रमा बाटो व्यवस्थित गर्ने नाममा बनाइएको संरचनाले विश्व सम्पदा सूचीको संरचना बिग्रिएकामा चिन्ता व्यक्त गरिन् ।

उनले त्यहाँको बाटो व्यवस्थित गर्न वृक्षरोपण हुनुपर्ने माग गर्दै चितवन राष्ट्रिय निकुञ्जमा पनि लोपोन्मुख वन्यजन्तुलाई असर पर्नेगरी प्राकृतिक संरचना नबिगार्न सुझाव दिइन् ।

सभासद् राजेन्द्रप्रसाद पाण्डेले खोलानालामा बालुवा, गिट्टी र ढुङ्गा झिक्ने काम बन्द गर्दा भवन निर्माण कार्यमा पनि असर परेको र जिविसले यसबाट प्राप्त गर्ने राजस्व रोकिएकाले पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सभासद् अनुराधा थापा मगरले गण्डक बाँध, शारदा बाँध र टनकपुर बाँधमा भएको असमान सन्धिले नेपालमा डुबान हुने र भारतीय क्षेत्रको सिँचाइ हुने काम गरेको र नेपालीलाई फकाएर भारतीय पक्षले आफ्नो स्वार्थ सिद्ध गर्ने काम भएको छ भन्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका अवसरमा अब पनि नेपाल नठगियोस् भनिन् ।

सभासद् अमनलाल मोदीले मोरङका सुकुम्बासीलाई बसोबासको व्यवस्था मिलाउनुभन्दा तिनलाई उठीबास गगराउने काम भइरहेको हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गर्दै सदनका कर्मचारीले ८० प्रतिशत भत्ता खाने तर सदनमै कार्यरत सुरक्षाकर्मीले ३५ प्रतिशत मात्र पाउने भएकाले समानरूपले भत्ता उपलब्ध गराउन माग गरे ।

सभासद् लक्ष्मणलाल कर्णले चालु आवको सदनमा पेस भएको बजेट मधेस विरोधी भएको गुनासो गर्दै यही साउन ९ गते विरोध जनाएका सदभावना पार्टीका कार्यकर्तालाई समातेर चौकीमा लगी अनावश्यक यातना दिएको गुनासो गर्दै यसको छानबिन हुन माग गरे ।

सभासद् धनबहादुर घलेले वर्षाका कारण आएको बाढीपहिराका कारण प्रभावित बासिन्दालाई तत्कालै राहतको व्यवस्था मिलाउन सुझाव दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us