धनुषा , ११ साउन – एकीकृत नेकपा माओवादी बाबुराम भट्टराई पक्षीय असन्तुष्टहरुले धनुषामा पनि समानान्तर जिल्ला कमिटी गठन गर्ने तयारी गरेको छ ।
भट्टराई पक्षले शिला यादवको संयोजकत्वमा १५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । यसले साउन १७ गते जिल्ला भेला गरेर समानान्तर जिल्ला समिति औपचारिक रुपमा घोषणा गर्ने संयोजक शिला यादवले बताएकी छिन् ।
जेठ १६ र १७ गते भएको जिल्ला सम्मेलन रामचन्द्र मण्डलको नेतृत्वमा जिल्ला कमिटी बनाएको थियो । तर, भट्टराई पक्षले भने मण्डलको अध्यक्षतामा भएको सम्मेलनलाई अस्वीकार्य भएको बताएका छन् ।
आफ्नो पक्षमा ७५ प्रतिशत कार्यकर्ता रहेको भन्दै भट्टराई पक्षले संस्थापन पक्ष अराजक भएको आरोप समेत लगाइएको छ ।
यता एमाओवादी जिल्ला ईन्चार्ज रामचन्द्र मण्डलले शीला यादवको नेतृत्वमा गठित जिल्ला सम्मेलन आयोजन समिति विधान विपरीत रहेको उल्लेख गरेका छन् ।
उनले दुई महिना अघि सम्पन्न जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन भई सकेको अवस्थामा अर्को सम्मेलनको प्रश्न उठाउन नमिल्ने दावी गरेका छन् । मण्डलले पार्टीको विधि तथा विधान विपरीत काम गर्नेहरुमाथि कारबाही गरिने चेतावनी दिएका छन् ।
भट्टराई समूहले पर्सा र गोरखामा समानान्तर जिल्ला कमिटी बनाइसकेको छ ।