सुषमा स्वराजले यसरी मागिन बामदेवसँग माफी

काठमाण्डु टुडे २०७१ साउन ११ गते १५:०८ मा प्रकाशित

काठमाण्डु, ११ साउन– भारतीय विदेशमन्त्री सुषमा स्वराजले एमाले कार्यबाहक अध्यक्ष एवम् उपप्रधान र गृहमन्त्री बामदेव गौतमसँग माफी मागेकी छन् ।

Swaraj Visits Pashupatinathतीन दिने भ्रमणको अन्तिम दिन आइतबार बिहान राजधानीको होटल हायातमा भएको भेटमा स्वराजले शनिबार भेट्न नसकेकामा माफी मागेकी हुन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार शनिबार स्वराज भेट्न मल्ल होटल पुगेका गौतम उनी नआएपछि झण्डै एक घण्टा कुरेर त्यसै फर्किएका थिए । प्रमुख सत्तारुढ घटकका कार्यबाहक अध्यक्ष र प्रधानमन्त्रीपछिका वरिष्ठ मन्त्रीलाई अपमान गरिएकामा स्वराजको आलोचना भएको थियो ।

आइतबारको भेटमा भने स्वराजले कुराकानीको सुरुआतै ‘आई एम सरी’ शब्दबाट गरेकी थिइन् । ‘हिजो जे भयो त्यसका लागि आईएम सरी’, स्वराजको भनाइ उद्धृत गर्दै गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले काठमाण्डु टुडेसँग भने, ‘मेरो नियत तपाईंको अपमान गर्नुथिएन, ‘कम्युनिकेशन ग्याप’ का कारण त्यसो हुनगयो ।’

जवाफमा गौतमले कहिलेकाहीं त्यस्तै हुने भन्दै आफूले सो विषयलाई सामान्य रुपमा लिएको बताएका थिए । करिब पौने घण्टासम्म भएको भेटमा नेपालको शान्ति प्रक्रिया, संविधान लेखन र विद्युत व्यापार सम्झौताका विषयमा छलफल भएको सुवेदीले बताए ।

सुवेदीका अनुसार स्वराजले नेपालमा उत्पादित विजुली नेपालीले उपयोग गरेर बढी भएपछि मात्र भारतले किन्ने स्पष्ट गरेकी छन् ।

भेटमा एमाले उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्ण्ुा पौडेल र घनश्याम भुसाल तथा सचिव भीम आचार्य सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us