चुरे क्षेत्रमा हरियो रूख कटानी तीव्र, उर्वरभूमि बगर बन्दै

काठमाण्डु टुडे २०७१ साउन ११ गते ७:१० मा प्रकाशित

जनकपुरधाम, ११ साउन – सम्बन्धित निकायको कर्तव्यबोध अभावका कारण चुरे क्षेत्रमा हरिया रूखको कटानी तीव्र भएपछि उर्वरभूमि बगरमा परिणत हुँदै गएको छ ।

पैँतीस वर्षअघि धनुषा जिल्लामा रहेको ३४ हजार हेक्टर वन क्षेत्र अतिक्रमणको सिकार भई हाल झन्डै २२ हजार हेक्टर वन क्षेत्र मात्र बाँकी रहेको छ ।

व्यापक मात्रामा चुरे वन क्षेत्रभित्र रहेको हरियो रूख कटानी हुन थालेपछि त्यस क्षेत्रमा रहेको हजारौँ बिघा जग्गा मरुभूमिमा परिणत भएको हो ।

धनुषा जिल्लाअन्तर्गत पूर्वमा कमला नदी र पश्चिममा रातो खोलासम्म फैलिएर रहेको बाहुनमारा, ढल्केबर, विश्रामपुर, लालगढ, पुष्पलपुर र मालटोलमा रहेको वन क्षेत्रमा रहेको हरियो रूख इलाका वन कार्यालयका केही कर्मचारीका कारण विनासको चपेटामा परेको स्थानीयवासीले बताएकाछन् ।

पुष्पलपुर रेन्जपोस्ट कार्यालयका केही कर्मचारीकै मिलोमतोमा चुरिया वनबाट व्यापक मात्रामा काठ तस्करी भई जलाद खोला, जमुनियाँ खोलाको बाटो भएर काठ सखुवा–महेन्द्रनगर बजार पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।

धनुषामा २६ सामुदायिक वन, १९८ निजी तथा २५ वटा कबुलियत वन छ भने ७१ वटा सार्वजनिक वन गरी नौ हजार ३५२ हेक्टर वन क्षेत्र रहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us