बाजुरा, ११ साउन –बुढीगङ्गा नदीमा दुई महिनाअघि जडान गरिएको बेलिब्रिज पहिरो र नदीको बहावका कारण जोखिममा परेको छ । पुलको दक्षिणतर्फ माथिबाट ठूलै पहिरो झरेको छ । “एक मिटर वरसम्म पहिरो पुग्ने हो भने बेलिब्रिजमा क्षति पुग्छ”, स्थानीयवासी रामबहादुर विकले भने ।
अर्कोतिर नदीमा पानीको बहाव बढ्दै गएकाले पुल बगाउन सक्ने खतरा बढेको स्थानीय बासिन्दा बताउँछन् । ग्याबिन तारले निर्माण गरिएको कच्ची वालमाथि पुल अड्याइएका कारण यस्तो जोखिम खेप्नुपरेको हो ।“नदीको तीव्र बहावले ग्याबिन जुनसुकै बेला भत्काउन सक्छ”, विकले भने । बेलिब्रिज जडान गर्ने कम्पनीका प्राविधिकसमेत पुल जोखिममा रहेको स्वीकार्छन् । बुढीगङ्गामा बनेको बेलिब्रिज नेपालकै लामो पुल हो । यसको लम्बाइ ५० मिटर छ । यसले ६० टन तौल धान्न सक्ने प्राविधिकहरु बताउँछन् । करिब रु छ करोडको लागतमा बेलिब्रिज निर्माण गरिएको हो ।
जिल्ला तहमा भएको लामो सङ्घर्षपछि सरकारले निर्माण गरेको बेलिब्रिज दुई महिना नबित्दै खतरामा परेपछि उपभोक्ता चिन्तित छन् । यो पुल एक ठाउँबाट अर्को ठाउँ सार्न मिल्ने प्रकृतिको हो । प्राविधिकले सम्भावित जोखिम पूर्वआँकलन नगरी इस्टिमेट गरेको भन्दै जडान सुरु गर्दादेखि नै खतरा हुन सक्ने अनुमान गरिएको थियो ।
बुढीगङ्गामा बेलिब्रिज निर्माण भए पनि त्यहाँसम्म पुग्न अन्य खोलामा पुल नबन्दा यातायात सञ्चालन हुन सकेको छैन । पुल नहुँदा बार्जुगाड, गुइगाड, ठाडो खोला, ताप्रिसेरा र तिपाडामा आउजाउ गर्न सकिँदैन ।
यी नदीमा पानीको सतह बढेपछि बेतालमाडौँमै यातायात रोकिएको छ । बाजुराखण्डको मुख्य नदी बुढीगङ्गामा बेलिब्रिज बनेकाले हिउँदमा भने यातायात सञ्चालन भइरहेको छ । बार्जुगाड, गुइगाड र ठाडो खोलामा निर्माणाधीन पुलको ठेकेदारले समयमै काम नगर्दा यातायात सेवा अवरुद्ध बन्ने गरेको हो । तिपाडा, ताप्रिसेरालगायतका ठाउँमा भने पुल निर्माण कार्य सुरु नै भएको छैन ।
अहिले बाजुरा, हुम्ला र मुगुका बस यात्रुहरुलाई बाजुरा र अछामको सिमानामा पर्ने बारबिस गाविसमा रहेको बेतालमाडौँ बजारमा नै उत्रिनुपर्ने अवस्था रहेको कोटिला गाविसका धर्मराज पाध्यायले बताए ।
पाध्याले दिएकोे जानकारीअनुसार सदरमुकामसम्म पुग्नसमेत एक दिनको पैदल यात्रा गर्नु पर्दछ । ‘०५४ सालमा शिलान्यास भएको सडक अहिलेसम्म पनि सरकारको मुख्य योजनामा नपर्दा हामीले यो समस्या व्यहोर्नुपरेको हो’– उनले भने ।