काठमाण्डु, १० साउन– एमाले वरिष्ठ नेता झलनाथ खनालले महाधिवेशनका बेला जन्मिएका गुट उपगुट विघटन गर्नुपर्ने बताएका छन् ।

एमाले काठमाण्डुले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले स्थायी गुटबन्दी अन्त्य हुनुपर्ने बताएका हुन् । खनालले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने दायित्व नयाँ नेतृत्वको काँधमा आएको उल्लेख गरे ।
‘महाधिवेशनका बेला जन्मिएका स्थायी गुटबन्दी अन्त्य हुनुपर्छ’, खनालले भने, ‘पार्टीलाई एकताबद्ध बनाएर लैजानु नयाँ नेतृत्वको जिम्मेवारी हो ।’ उनले निर्वाचनका बेला छुट्टाछुट्टै प्यानल बने पनि दुवै समूहबाट सक्षम र योग्य व्यक्ति चुनिएको बताए ।
महासचिव ईश्वर पोखरेलले गुट, उपगुट अन्त्य गरी एकताबद्ध भएर पार्टी अघि बढ्ने उल्लेख गरे ।