भट्टराईको गृह जिल्लामा एमाओवादी फुट्यो

काठमाण्डु टुडे २०७१ साउन १० गते १२:४३ मा प्रकाशित

गोरखा, १० साउन– एकीकृत नेकपा माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले विभिन्न जिल्लामा धमाधम समानान्तर कमिटी गठनलाई maoist-flagतीव्रता दिएको छ ।
सो पक्षले शनिबार भट्टराईको गृहजिल्ला गोरखा र पर्सामा सामानान्तर कमिटी घोषणा गरेको हो । दुवै जिल्लामा ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा भएको छ । भट्टराई पक्षले गोरखामा पूर्वविद्यार्थी नेता यानप्रसाद भट्टको अध्यक्षतामा छुट्टै कमिटी घोषणा गरेको हो ।

यस्तै उपाध्यक्ष पूर्वसभासद ज्ञानेन्द्र कुमाल र सचिवमा सहिद भीमसेन पोखरेलका भाई रमेश पोखरेल छन् । पत्रकार सम्मेलनमा भट्टले बाँकी दुई पदाधिकारी र जिल्ला कमिटीका १५ सदस्य अर्को बैठकले चयन गर्ने बताए ।

उनले आफ्नो अध्यक्षताको कमिटी नै आधिकारिक भएको दाबी गरे । उनले आफ्नो पक्षलाई पदाधिकारीमा स्थान नदिइएकाले समानान्तर कमिटी बनाउन बाध्य भएको उल्लेख गरे ।

पाचौं जिल्ला सम्मेलनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा जिल्ला कमिटीको ३८ मध्ये ४ सदस्य मात्र भट्टराई पक्षले जितेको थियो ।

पत्रकार सम्मेलनमा भट्टले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ठाडो निर्देशनमा संस्थापन पक्षले लेखबहादुर थापालाई जिल्ला अध्यक्ष बनाएको आरोप लगाए ।

पर्सामा पनि भट्टराई पक्षको समानान्तर कमिटी
यसैबीच भट्टराई पक्षले पर्सामा पनि समानान्तर कमिटी गठन गरेको छ । शनिबार वीरगन्जको एक होटलमा पत्रकार सम्मेलन गरी बलिराम साहको अध्यक्षतामा ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो ।

समानान्तर कमिटीको उपाध्यक्षमा हरिप्रसाद मण्डल, सचिवमा प्रभुप्रसाद यादव, कोषाध्यक्षमा योगेन्द्र साह कानु र सहसचिवमा रामस्वरुप राम र हिरा भट्टराई छन् । भट्टराई पक्षले क्षेत्रीय कमिटी इन्चार्जका साथै १७ सदस्यीय सल्लाहकार कमिटीसमेत गठन गरेको छ ।

यस्तै वाइसीएल, महिला, विद्यार्थी, दलित, शिक्षक, वुद्धिजिवी, कर्मचारीलगायत जनवर्गीय संगठन पनि समानान्तर घोषणा गरिएको छ ।
संस्थापन पक्षले भने केही दिनअघि विजय महतोको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको थियो ।

भट्टराई पक्षले यसअघि मकवानपुर र डोटीमा समानान्तर जिल्ला कमिटी गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us