
काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेकी छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले कोइरालालाई भेटेकी हुन् । भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो निम्ता स्वीकार गरेर मोदी नेपाल आउन लागेकामा खुसी व्यक्त गरेका थिए । उनले आफूहरु मोदीको भ्रमण सफल र फलदायी बनाउन लागि परेको बताए ।
‘मेरो निम्ता स्वीकार गरेर मोदीजी नेपाल आउन आउनु खुसीको कुरा हो’, कोइरालाले भने, ‘नेपाल सरकार र नेपालका दलहरु भ्रमण सफल बनाउन लागि परेका छौं ।’
स्वराजसँग कोइरालाले भारतमा नयाँ सरकारले छिमेकीसँगको सम्बन्ध सुधारको कोसिस गर्नु सराहनीय भएको बताए । उनले आफूहरु नेपालमा स्थिरता, विकास, लोकतान्त्र र दिगो शान्तिका लागि काम गरिरहेको भन्दै सहयोग गर्न आग्रह गरे । जवाफमा स्वराजले नेपालको शान्ति र संविधान लेखनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
उनले आफू विदेशमन्त्री भएको दुई महिनामा नेपाल आएको र प्रधानमन्त्री मोदी अर्को साता आउन लागेको भन्दै भारतले नेपाललाई उच्च महत्व दिएको दोहोर्याएकी छन् । भेटका क्रममा स्वराजले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य लाभको कामनासमेत गरिन् ।
कोइराला अमेरिकामा फोक्सोको क्यान्सरको उपचार गराएर केही दिनअघि मात्र स्वदेश फर्किएका हुन् ।