
काठमाण्डु, १० साउन– अरु दलबाट ‘स्वच्छ छवि’का नेता कार्यकर्ता भेला पारेर नयाँ शक्ति बनाउने प्रयास असफल भएपछि एमाओवादी नेता डा. बाबुराम भट्टराईले फेसबुकबाटै नयाँ शक्ति निर्माणको अभियान थालेका छन् ।
डा. भट्टराईले ‘नयाँ शक्ति’ नामक फेसबुक पेज निर्माण गर्दै सबैलाई यो बहसमा जुट्न आव्हान पनि गरेका छन् । फेसबुक पेजमा उनले लेखेका छन, ‘नयाँ शक्ति ऐतिहासिक आवश्यकता हो, यसलाई कसैले पनि टार्न सक्दैन’ फेसबुकमार्फत उनले शनिबार इटहरीमा आयोजना हुने नयाँ शक्तिको बहसमा सहभागी हुन सबैलाई निम्तो पनि गरेका छन् ।
शनिबार इटहरीको रिजाल भिजन पार्टी प्यालेसमा ‘वैकल्पिक विचार मञ्च’ ले आयोजना गरेको ‘नयाँ शक्तिको बहस :डा. बाबुराम भट्टराइसँग अन्र्तक्रिया’ विषयक कार्यक्रममा भट्टराई सहभागी भइसकेका छन् । एमाओवादीभित्र डा. भट्टराईले केही समयदेखि नयाँ शक्तिको बहस चलाइरहेका छन् । एमाओवादी हुँदाहुँदै नयाँ शक्तिको आवश्यकता किन पर्यो ? भनेर पार्टीभित्र प्रश्न उठेपछि उनले नयाँ पार्टी गठनका लागि नभई वैचारिक बहसका लागि नयाँ शक्तिको बहस चलाएको स्पष्टीकरण दिएका थिए ।
बीचमा केही समय सेलाएको यो प्रसंगलाई भट्टराईले फेसबुकमार्फत चर्काएका हुन् । भारतमा आम आदमी पार्टीले सामाजिक मुद्दा अघि सारेर आफूलाई नयाँ शक्तिका रुपमा दिल्लीमा सरकार नै गठन गरेपछि नेपालमा पनि नागरिक समाजका केही व्यक्तिहरुले नयाँ शक्ति निर्माणको पहल थालेका थिए ।
बैंकर अनिल शाह, कलाकारहरु हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ, बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्र, नायक राजेश हमालले नयाँ पार्टी खोल्ने हल्ला चलाएका थिए । आम आदमी पार्टीका अरविन्द केजरीवालजस्तै नेता नेपालमा पनि चाहिएको भन्दै पेपरवाजी पनि भएको थियो । त्यही माहौललाई क्यास गर्न डा. भट्टराईले नयाँ शक्तिको पासा फालेका थिए ।
सुरुमा काँग्रेसका प्रदीप गिरी, गगन थापा, नरहरि आचार्य, एमालेका घनश्याम भुषाल, योगेश भट्टराई, रवीन्द्र अधिकारी, रामकुमारी झाँक्रीलगायतका नेतासँग भट्टराईले एकसरो बहस पनि चलाएका थिए । तर भारतमा आम आदमी पार्टी कमजोर हुँदै गएपछि नेपालमा पनि नयाँ शक्तिको बहस थान्को लाग्यो ।
घनश्याम भुषाल र योगेश भट्टराईहरु माधव नेपाललाई नेता बनाएर एमालेको महाधिवेशनतिर लागे पनि नागरिक समाजका केही सेलीब्रेटी अनुहार पनि पार्टी खोल्नु आफूहरुको काम नभएको महसुस गर्दै पछि हटे । गएको चुनावमा पुरानै शक्ति काँग्रेस, एमाले र एमाओवादी नै पहिलो, दोस्रो र तेस्रो भएकाले नयाँ शक्तिको सम्भावना हराएर गएको हो । तैपनि डा. भट्टराईले नयाँ शक्तिको बहसलाई भने पत्रिका, अनलाइन र सामाजिक सञ्जालमा भए पनि जारी राख्दै आएका थिए । पछिल्लो पटक भने उनले यस दिशामा नयाँ तरंग ल्याउन खोजेको देखिन्छ ।