काठमाण्डु, १० साउन– नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छन् ।
उनले आज बिहान मधेस केन्द्रित दलका शीर्ष नेतासँग सामूहिक भेटघाट गरेकी हुन ।
उनी बसेको होटल द्वारिकाजमा भएको भेटमा काँग्रेस, एमाले र एकीकृत माओवादीका मधेसी नेतासमेत सहभागी थिए ।
भेटमा मधेसी दलका अध्यक्षहरु विजयकुमार गच्छदार, महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झालगायत थिए । भेटमा कांग्रेसबाट अमरेशकुमार सिंह, एमालेबाट सत्रुघ्न महतो र एमाओवादीबाट प्रभु साह पनि सहभागी दिए ।
एक घण्टासम्म चलेको उक्त भेटमा मधेसी नोताले मधेसका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । भेटमा सहभागी एमाओवादी नेता साहले पूर्वपश्चिम रेल मार्ग, हुलाकी मार्ग, चुरे संरक्षण र नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
जवाफमा स्वराजले नेपालको शान्ति, स्थायित्व र विकासमा सक्दो सहयोग गर्ने बताएकी थिइन् । उनले नेपाललाई आफूहरुले महत्वका साथ हेरेकाले सरकार बनेको दुई महिनामै नेपाल भ्रमण गरेको र प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपाल आउन लागेको बताइन् ।