
काठमाण्डु , ९ साउन – अर्थविद्हरुले खुल्ला सीमा रहेको उदयमान अर्थतन्त्र भारतसँग हालेमालो गर्दै नेपालले विकासको बाटो खोल्नु पर्नेमा जोड दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जिवी नेपालले भारत विश्वकै उदियमान अर्थतन्त्र भएकोले सहकार्य गर्दै आफ्नो विकासको ढोका खोल्नु पर्ने बताए ।
साक्षात्कारमा उनले भारतको नेपालमा ठूलो आर्थिक लगानी भएको, ४ खर्व भन्दा बढी ब्यापार घाटा भएकोले पनि भारतसँग साझेदारी गर्न जरुरी रहेको तर्क गर्दै नेपालको ब्यापार घाटा कम गर्न जलविद्युतको विकास र ब्यापार बाहेक अर्को विकल्प नभएकोले सम्झौता गर्न जरुरी रहेको तर्क गरे ।
नेपालले भने–ब्यापार घाटा घटाउन निकासी बढाउनु पर्छ । नेपालसँग जलविद्युतको निकासीको प्रवल सम्भावना छ त्यसले विद्युत ब्यापार सम्झौतामा हस्ताक्षर गरेर जलविदुतको विकास गर्न आवश्यक छ ।
उनले नेपालको विकासको सम्भावना रहेका सबै क्षेत्रहरुको स्पष्ट मार्ग चित्र तयार पारेर नेपालले भारतसँग प्रस्तुत हुनु पर्ने धारणा राख्दै भारतीय प्रधानमन्त्रीको भ्रमणकै समयमा जलविद्युत सम्झौता हुने विश्वास ब्यक्त गरे । त्यसकोलागि नेपालले तिब्र रुपमा तयारी गरिरहेको समेत स्पष्ट पारे ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले लोडसेडिङको कारण नेपालको अर्थतन्त्र दयनीय बन्दै गईरहेको उल्लेख गर्दै विद्युत विकासको लागि भारतसँग सम्झौता गर्न आवश्यक रहेको तर्क गरे । नेपाल भारतवीचको सम्बन्ध अरुसँगको भन्दा फरक र प्रगाढ रहेको उल्लेख गर्दै उनले आ आफ्नो राष्ट्रिय स्वार्थ अनुसारको एजेण्डा तय गरेर सम्भावनका सबै क्षेत्रहरुमा स्पष्ट कुरा गर्नु पर्ने बताए ।
नेपालले विद्युत सम्झौता अरु देशसँग भन्दा पनि भारतसँग नै गर्नु पर्नेमा जोड दिदै पाण्डेले सम्झौता गर्ने बेलामा विरोध गर्न नहुने बताए । उनले भने–सम्झौता गर्ने विषयमा विवाद गर्नु हुँदैन । गरे हामीलाई नै घाटा हुन्छ । यो उपयूक्त अवसर हो, भारतीय प्रधानमन्त्री आएको वेला उहाँसंग नेपालको विकासको मुल एजेण्डालाई स्पष्टसँग प्रस्ताव गर्न सक्नु पर्छ ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितले मुलुकको स्वाभिमानलाई कायम राख्ने गरि विकास गर्नु पर्ने भन्दै मुलुकको हितलाई केन्द्रमा राखेर भारतसँग सम्झौताहरु गर्नु पर्नेमा जोड दिए ।
उनले भारतको सम्बन्धमा नेपालले स्पष्ट नीति बनाउन नसकेको आरोप लगाउँदै भिख माग्नु भन्दा पनि मौकाको फाईदा लिन सक्नु पर्ने बताए ।
उनले भारतीय प्रधानमन्त्री हिन्दुत्वको भावनाले पनि नेपाल भ्रमणमा आउन लागेको उल्लेख गर्दै दुबै पक्षको हिन्दुत्वको भावनालाई सहकार्यमा परिणत गर्नु पर्ने धारणा राखे ।
अर्थविद् डा विश्वम्भर प्याकुरेलले नेपालमा भारतकै ५० प्रतिसत भन्दा बढी लगानी रहेको, ब्यापार घाटा पनि भारतसँगै रहेको, सीमा पनि खुल्ला रहेको र प्रगाढ सास्कृतिक सम्बन्ध समेत गरहेकोले सार्थक बार्ता गरेर ठोस सहमति गर्नु पर्नेमा जोड दिए ।
उनले देशको हितलाई ध्यानमा राखेर सम्झौता गर्न सुझाव दिँदै भारतले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनको विषयलाई पनि उठाउनु पर्ने बताए ।
परराष्ट्रविज्ञ भिम उदासले नेपालले आफ्नो पुरानो राष्ट्रिय स्वार्थमा समयानुकुल परिवर्तन गरेर विश्वासको बातावरण निर्माण गर्दै फाईदा लिन सक्नु पर्ने जिकिर गर्दै नेपालले सबै एजेण्डाहरुलाई स्पष्ट सँग राख्न सक्नु पर्ने बताए ।