नुवाकोट, ९ साउन –जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट गत आर्थिक वर्षमा नागरिकताभन्दा पनि राहदानी लिनेको सङ्ख्या धेरै रहेका छन् ।
गत आव २०७०÷०७१ मा जिल्ला प्रशासन कार्यालयले वितरण गरेको नागरिकताभन्दा झन्डै दोब्बरको सङ्ख्यामा जिल्लावासीले राहदानी बनाएका छन् । कार्यालयका अनुसार एक वर्षमा वंशजको नाताले आठ हजार ४८८ थान र वैवाहिक अङ्गीकृत पाँच गरी आठ हजार ४९३ थान नागरिकता वितरण भएको छ । सोही अवधिमा राहदानी भने १५ हजार ६०० जनाले लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट नै वितरण भएको राहदानी आठ हजार ३४७ र दु्रत सेवाका लागि राहदानी विभागमा सिफारिस सात हजार २७५ रहेको छ । जिल्ला प्रशासनले वितरण गरेको राहदानीबाट रु चार करोड २७ लाख राजस्व सङ्कलन भएको छ ।
राहदानी लिनेको सङ्ख्या उच्च देखिनु भनेको नुवाकोटवासी वैदेशिक रोजगारीका लागि जान आकर्षितको सङ्ख्या धेरै रहेको देखिने सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले बताए ।
सरकारले हस्तलिखित राहदानी हटाएर एमआरपी मेसिन रिडेबल पासपोर्ट अनिवार्य गरेको कारण पनि धेरै राहदानी वितरण भएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।