संसदमा तीन विधेयक प्रस्तुत

काठमाण्डु टुडे २०७१ साउन ८ गते १३:११ मा प्रकाशित

काठमाण्डु , ८ साउन – व्यवस्थापिका–संसद्को बिहिबारको बैठकमा स्थानीय स्यायत्त शासन, निजामति सेवा र राष्ट्रिय युवा परिषद्सम्बन्धी तीन विधेयक प्रस्तुत भएको छ ।

बैठकमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले ‘स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक, २०७१’, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘निजामती सेवा (चौथो संशोधन) विधेयक, २०७१’ र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले ‘राष्ट्रिय युवा परिषद् विधेयक, २०७१’ सदनसमक्ष प्रस्तुत गरेका हुन् ।

‘राष्ट्रिय युवा परिषद् विधेयक, २०७१’ लाई प्रस्तुत नगर्न विरोधको सूचना प्रस्तुत गर्दै नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले मुलुकमा धेरै संरचना मात्रै बनाउँदा काम कम खर्च बढी हुने भएकाले संशोधन गरेर मात्रै विधेयक ल्याउन आग्रह गरेका थिए ।

विरोधको सूचनामा उठाइएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धता, युवा क्षेत्रमा आन्दोलनरत् संस्थाले उठाएका मागमा आधारमा राष्ट्रिय युवा परिषद् विधेयक ल्याइएको स्पष्ट गरे ।

बैठकमा विनियोजन विधेयक, २०७१ माथि मन्त्रालयगत छलफल प्रारम्भ गर्ने कार्यसूची रहेपनि ‘रातो किताब भाग २) तयार नभएकाले छलफल हुन नसकेको सभामुख सुवास नेम्वाङले जानकारी गराए । संसद्को अर्काे बैठक साउन ११ गते आइतबार १ बजे बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us