मोदी आउँदा ३३ दलीय मोर्चाले विरोध गर्ने

काठमाण्डु टुडे २०७१ साउन ८ गते १२:५० मा प्रकाशित

काठमाण्डु , ८ साउन – नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले भारतद्वारा प्रस्तावित विद्युत व्यापार सम्झौता राष्ट्रिय हित विपरीत भएको ठहर गरेको छ ।

साथै ३३ दलीय मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

नेपालको जल विद्युत आयोजनामा १०० प्रतिशत भारतीय लगानी वा भारतीय निकायहरुसँग संयुक्तरुपमा सम्पन्न गर्ने प्रस्तावलाई सरकारले गोप्य राखी भित्रभित्रै सम्झौता गर्ने तयारी गरेको र माथिल्लो कर्णाली जलविद्युत आयोजनालगायतको पीडीए सम्झौतामा पनि हस्ताक्षर गर्ने भित्री योजना रहेको ३३ दलको दाबी छ ।

नेपालका करिव ६० स्थानमा भारतीय पक्षले सीमा मिचेको भन्दै ३ दलले महाकाली र सुस्ता क्षेत्रको मात्र सीमा विवाद रहेको र अन्य क्षेत्रमा नरहेको भनी नक्सामा दुबै पक्षले हस्ताक्षर गर्ने योजना रहेको थाहा हुन आएको समेत बताइको छ ।

‘राष्ट्रिय महत्वका विषयहरुमा राष्ट्रिय सहमति कायम नगरी हस्ताक्षर गर्ने अधिकार यो सरकारलाई नभएको हुनाले उपरोक्त विषयमा कुनै पनि सम्झौता वा सहमति नगरियोस् भन्ने हामी जोडदार माग गर्दछौं’ ३३ दलले भनेका छन् ।

३३ दलले साउन १९ र २० गते रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।

साउन १८ गते भारतीय प्रधानमन्त्री नेपाल आउने कार्यक्रम छ ।

साथै भित्तेलेखन, पर्चा र हाते बील वितरण, देशका विभिन्न भागमा गोष्ठी र विरोध प्रदर्शन आदि कार्यक्रम पनि तय गरिएको ३३ दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us