
काठमाण्डु , ८ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी मोरङ सिँचाइ आयोजनाका तत्कालीन प्रमुख विनयकुमार सिंहलाई पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आयोजना प्रमुख विनयकुमार सिंह र उनका श्रीमती अलका सिंहले पदीय दुरुपयोग गरी एक करोड ३५ लाख ७६ हजार ६८८ गैरकानुनी रुपमा आर्जन गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।
सो सिँचाइ आयोजनाको प्रमुख हुँदा सिंहले परियोजनामा तोकिएबमोजिमको रकम दुरुपयोग गरेको र श्रीमतीको नाममा समेत राखेको पाइएको छ ।
उनीहरुको खातामा जम्मा भएको एक करोड ३२ लाख ७२ हजार २११ को कुनै स्रोत नखुलेको पाइएकाले अनुसन्धान गर्दा भ्रष्टाचार गरेको ठहर भएको आयोगले जनाएको छ ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ बमोजिम विगो असुल उपर गर्न र चल अचल सम्पत्तिबाट जफत गर्न माग गर्दै मुद्दा दायर गरिएको विज्ञप्तिमा जनाइएको छ ।