प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त गर्न निर्देशन

काठमाण्डु टुडे २०७१ साउन ८ गते ९:४७ मा प्रकाशित

काठमाण्डु, ८ साउन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

akhtiyarआयोगले बिहिबार नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याललाई एक पत्र लेखी जनतालाई दैनिक सेवा प्रदान गर्नुपर्ने निकाय निमित्तको भरमा सञ्चालन हुनु गलत भएको जनाएको हो ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत क्षेत्रको विकास अपरिहार्य रहेको सन्दर्भमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरणको जिम्मेवारी बहन गर्ने प्राधिकरण लामो समयसम्म नेतृत्वविहीन रहँदा अपेक्षाकृत उद्देश्य हासिल गर्न नसक्ने तथ्यतर्फ आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादव ट्रान्सफर्मर खरिद प्रकरणमा आयोगकै छानबिनमा रहनुभएको र ऊर्जा मन्त्रालयले प्राधिकरणमा नियुक्त गरेको सहसचिव अर्जुनकुमार कार्कीलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा पठाएपछि सो पद रिक्त रहँदै आएको छ ।

हाल प्राधिकरणको नेतृत्व रामचन्द्र पाण्डेले निमित्तको अख्तियारीमा बहन गरिरहेका छन् । लामो समयसम्म प्राधिकरणको नेतृत्व निमित्तको भरमा सञ्चालन हुँदा विद्युत् क्षेत्रसँग सम्बन्धित धेरै विषयहरु ओझेलमा परेको र तत्काल निर्णय लिन नसकेको गुनासा आइरहहेका बेला यस सम्बन्धमा आयोगको पछिल्लो धारणा बाहिर आएको हो ।

प्राधिकरणलाई यथोचित गति प्रदान गर्न कार्यकारी निर्देशक छिटोभन्दा छिटो नियुक्त गर्न आयोगको ऐन, २०४८ को दफा २८ बमोजिम मुख्य सचिव पौड्याललाई पत्र पठाइएको आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us