
बागलुङ, ८ साउन – न्यूनतम सर्त मापन मूल्याङ्कनमा बागलुङका ४० गाविस असफल भएका छन् । स्थानीय विकास मन्त्रालयअन्तर्गत स्थानीय वित्तीय आयोगले गरेको मूल्याङ्कनमा ती गाविस असफल देखिएका हुन् ।
आयोगले निर्धारण गरेका न्यूनतम सर्त पूरा गर्न नसक्ने गाविसहरु असफल भएका हुन् ।
आर्थिक वर्ष २०६९–७० मा नियमित रुपमा गर्नुपर्ने आर्थिक व्यवस्थापन, लेखा परीक्षण, योजना तर्जुमा, कार्यालय व्यवस्थापनलगायतका १० सूचकलाई आधार मानेर गरिएको मूल्याङ्कनमा १९ गाविस मात्र सफल देखिएका छन् ।
न्यूनतम सर्त मापनमा जिल्लाको भीमगिठे, भकुण्डे, बाटाकाचौर, तित्याङ, तारा, तमान, खुंङ्खानी, सुखौरा, सिसाखानी, सिगाना, सर्कवा, सल्यान, अर्जेवा, रायडाँडा, राङ्खानी, राजकूत, पालाकोट गाविस असफल भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै अर्गल, निसी, खुङ्गा, जलजला, अमरभूमि, हुग्दीशिर, हटिया, हरिचौर, ग्वालिचौर, धुल्लुबाँस्कोट, धम्जा, देवीस्थान, दर्लिङ, दमेक, दगान्तुम्डाँडा, छिस्ती, बुर्तिवाङ, बोवाङ, बोहरागाउँ, बिनामारे, अधिकारीचौर, भीमापोखरा र रिघासमेत न्यूनतम सर्त मापनमा असफल भएका छन् ।
न्यूनतम रुपमा तोकिएका सर्तहरु पूरा गर्न नसक्ने गाविसले मन्त्रालयबाट पाउने १० प्रतिशत अनुदान गुमाउने छन् । जिल्लाका ४० गाविस असफल भएको विषयमा जिल्ला विकास समिति भने बेखबर बनेको छ ।
स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले जिल्लाका ४० गाविस असफल भएकोबारे आफू अनभिज्ञ रहेको भन्दै एकैपटक धेरै गाविस असफल हुनुको कारणबारे मन्त्रालयमा बुझ्ने बताउनुभयो । उहाँका अनुसार ४० गाविसबाट १० प्रतिशतका दरले कटौती भएको अनुदान रकम जिल्लाका सफल भएका १९ गाविसमा थप हुनेछ ।
न्यूनतम सर्त मापनमा असफल भएपछि ४० गाविसले पाउने करिब रु १२ करोड कटौती हुने भएको छ । यता, न्यूनतम सर्त तथा कार्यसम्पादन मापनमा बागलुङ जिल्ला भने सफल देखिएको छ । बागलुङ जिल्लाले ७८ अङ्क प्राप्त गरेको छ ।
जिल्लाले १५ प्रतिशत थप अनुदान पाउने जिल्ला विकास समितिले जनाएको छ । रासस