काठमाण्डु , ७ साउन – नेपालका लागि भारतीय राजदुत रञ्जित रेले विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व तयारी भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले नेपालमा हुने दुई देशका विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन स्वराज नेपाल आउन लागेको जानकारी दिदै यसले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिने विश्वास ब्यक्त गरे ।
साक्षात्कारमा राजदुत रेले भने– विदेशमन्त्रीको भ्रमण प्रधानमन्त्रीको भ्रमणको पूर्व तयारी हो । यसले छलफल र सम्झौताका एजेण्डाहरु तय गर्ने छ । नेपाल भारतवीचको सम्बन्धले अब नयाँ उचाई प्राप्त गर्छ । दुई देशको विचमा रहँदै आएको ग्याप हट्छ ।
उनले भारतीय प्रधानमन्त्री मोदीको प्राथमिकता छिमेकी मित्र राष्ट्रहरुको विशेषमा परेको उल्लेख गर्दै मोदी भुटान लगत्तै नेपाल आउन लाग्नुभएको हो । सोही अनुरुप उहाँले हामीलाई गृहकार्यको तयारी पनि गर्न निर्देशन दिनुभएको छ । उहाँको भ्रमणले नेपाल भारत सम्बन्ध अझै प्रगाढ भएर जलविद्युत सहित सम्पूर्ण क्षेत्रमा बृहद साझेदारी सुरु हुने दावी गरे ।
राजदुत रेले समझदारीका साथ अघिबढे भ्रमण फलदायी भएर नेपाल र भारत दुबै देशले फाईदा लिन सक्ने तर्क गर्दै जलविद्युत निर्माणमा भारतले सम्झौता मात्र गर्छ , निर्माण गर्दैन भन्ने नेपालीको धारणामा परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे ।
उनले आफू नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको यात्रा जाँदा स्थानीयबाट विद्युत सम्बन्धी गुनासो सुन्नु परेको स्मरण गर्दै भारत सरकार आगामी दिनमा सवै खाले जलविद्युत आयोजनाहरुमा नेपाल सरकारसंग सम्झौता गरि सहकार्य गर्न तयार रहेको बताए । उनले पञ्चेश्वर र पश्चिम महाकाली जस्ता परियोजनाहरु पनि शुरु हुने बताए ।
जलविद्युत नेपालको विकासको मेरुदण्ड भएको भन्दै उनले दुबै देशमा स्थिर सरकार भएको बेला यस विषयमा सहमति गर्न उपयूक्त हुने तर्क गरे । उनले भने–अब राजनीतिक सहमति गरेर अघि बढ्नु पर्छ । आ–आफ्नो सार्वभौमतालाई ख्यालमा राखेर सम्झौता गर्नुपर्छ ।
राजदुत रेले निकट भविष्यमा नेपालमा महत्वपूर्ण सार्क र विमस्ेटक सम्मेलन हुन लागेको उल्लेख गर्दै यसबाट नेपालले फाईदा लिन सक्नु पर्ने धारणा राखे । उनले यस्ता सम्मेलनले क्षेत्रिय साझेदारीको विकास गर्ने बताए ।
उनले भारतद्धारा प्रस्तुत गरिएको विद्युत व्यापार सम्झौता प्रस्ताव अन्तिम मस्यौदा नभएको स्पष्ट पार्दै यसलाई दुबै देश बसेर विवादित विषय संसोधन गरेर टुङग्याउनु पर्नेमा जोड दिए । उनले नेपाल भारत सम्बन्ध सौहार्द रहेको प्रष्ट पार्दै यसलाई आपसी समन्वयमा अझै प्रगाढ बनाउनु पर्ने धाराणा राखे । उनले भने –यो प्रस्ताव हामी पूनरावलोकन गर्न तयार छौं ।