मोदी आउने भएपछि पशुपति हुने भो सफा

काठमाण्डु टुडे २०७१ साउन ७ गते ९:५३ मा प्रकाशित

काठमाण्डु , ७ साउन – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई प्लास्टिक मुक्त बनाउने उद्देश्यले विशेष सरसफाइ अभियान सुरु गर्ने भएको छ ।

pashupatinath nepalभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शनसमेत गर्ने कार्यक्रम रहेकाले पनि प्रारम्भिक चरणमा पशुपति क्षेत्रको सरसफाइमा ध्यान दिन लागिएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिएका छन् ।

मोदी आउने औपचारिक जानकारी नआए पनि अनौपचारिक खबरका आधारमा सरसफाइ कार्यक्रमलाई अगाडि बढाइएको उनले उल्लेख गरे ।

सरसफाइका क्रममा पशुपति क्षेत्रलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्रका रुपमा स्थापित गर्ने उद्देश्यले अभियान सुरु गर्न लागिएको छ । कोषले यसअघि नै पशुपति क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरेपनि अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

साउनमा भक्तजनको विशेष भिड लाग्ने गरेकाले पनि सरसफाइ र प्लास्टिक निषेधलाई अभियानका रुपमा अगाडि बढाउन लागिएको सदस्य सचिव टण्डनले बताए ।

कोषको प्लास्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले कोरल शुज प्रालिले दुई हजार थान कपडाको झोला उपलब्ध गराएको निर्देशक युवराज ओडारीले जानकारी दिए । भक्तजनको जुत्ता राख्नका लागि उपलब्ध गराइएको झोला ६ महिनासम्मका लागि पुग्ने बताइएको छ ।

एक दशकको अन्तरालमा नेपालको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us