काठमाण्डु, ७ साउन – नेकपा –माओवादीले पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’को छुट्टाछुट्टै राजनीतिक प्रस्तावलाई निष्कर्षमा पुर्याउन अर्को नयाँ प्रस्ताव बनाएको छ ।
पार्टी मुख्यालय अनामनगरमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो । अध्यक्ष र सचिवको बीचमा देखिएको मतान्तरलाई एक वर्षभित्र महाधिवेशन गरेर निष्कर्षमा पुग्ने सहमति भएको पार्टी स्रोतले बताएको छ ।
पार्टीलाई एकताबद्ध र स्वस्थ अन्तरसङ्घर्षका माध्यमबाट अझै मजबुुत बनाउँदै लैजाने र जनवादी क्रान्तिलाई सफल बनाउने पनि घोषणा गरेका छन् ।
एक फरक प्रसङ्गमा अध्यक्ष किरणले भारत दक्षिण एशियाली राष्ट्रका लागि दु:खको विषय बनेको प्रसङ्ग उल्लेख गरेका छन् ।
भारतमा नवगठित भारतीय जनता पार्टीको सरकार साम्प्रदायिकताको मुद्धा उछालेर हिड्ने भएकाले नेपाललाई यो घातक भएको उनले ठोकुवा गरेका छन् ।
नेपालमा धर्मको कुरा उठाएर निरङकुश राजतन्त्र फर्काउने भाजपाको कुचेष्टा रहेको उनले बताएका छन् । साथै भारतमार्फत नेपालमा अझै अमेरिकी साम्राज्यवाद फैलिने तर्क पेश गरेका छन् ।
३३ दलीय मोर्चा र संघीय मोर्चालाई सशक्त बनाएर लैजाने निर्णय गरेको पनि पार्टी सचिवालयले जनाएको छ ।
भारतसँग सरकारले गर्न लागिएको भनेको विद्युत व्यापार सम्झौता राष्ट्रहित विपरीत र हस्तक्षेपकारी भएको धारणा पार्टीले सार्वजनिक गरेको छ ।