काठमाण्डु , ६ साउन – नेपाली काँग्रेस वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइराला सानो देशको ठूलो नेता भएको बताएका छन् ।
बिपी कोइरालाको जन्म शताब्दी एवम् स्मृति दिवसका अवसरमा काँग्रेस केन्द्रीय कार्यालय र बिपी कोइराला मेमोरियल ट्रस्टद्वारा आज सानेपामा आयोजित रक्तदान एवम् वृक्षरोपण कार्यक्रममा उनले भौगोलिक रुपमा सानो देश नेपालमा जन्मेका बिपीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट उचाइ प्राप्त गर्नुभएको खुलासा गरे ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई आदर्शका रुपमा व्यावहारिक प्रयोगमा ल्याएका बिपी कोइरालाले नेपाली जनताको स्वतन्त्रका लागि अत्यन्त कठिन सङ्घर्ष गर्नुभएको स्मरण उनले सुनाए ।
बिपीले जनताका आधारभूत आवश्यकताका रुपमा गास, बास, कपासका साथै शिक्षा, स्वास्थ्य जस्ता कुरालाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै वरिष्ठ नेता देउवाले भने– “नेपाल गाउँ नै गाउँले भरिएको देश भएका कारण विकासको काम गाउँबाटै सुरु गर्नुपर्नेमा बिपीको जोड थियो ।”
उक्त अवसरमा वरिष्ठ नेता देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व सभामुख तारानाथ रानाभाटलगायत काँग्रेसका नेता तथा कार्यकर्ताले बिपीको तस्बिरमा माल्यार्पण गरेका थिए । रासस