एउटै पदमा दुई व्यक्ति नियुक्त

काठमाण्डु टुडे २०७१ साउन ६ गते ९:२१ मा प्रकाशित

सुर्खेत, ६ साउन – जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको चरम लापर्बाहीका कारण एउटै कार्य क्षेत्रमा एउटै पदका लागि दुईलाई नियुक्ति दिइएको रहस्य खुलेको छ ।

गीता चौधरीले साविकको उत्तरगङ्गा गाविस, वीरेन्द्रनगर नगरपालिका–१९ को लवस्ता टोलमा लामो समयदेखि काम गर्दै आएकी छिन् । विसं २०६२ देखि कार्यरत गीतालाई हटाउनु प¥यो भन्दै स्वास्थ्य चौकीमा आएका केही व्यक्तिले तयार पारेको प्रतिवेदनका आधारमा कार्यालयले शान्ता चौधरीलाई नियुक्ति दिएको छ ।

तर कार्यालयले विगतदेखि काम गर्दै आएकी गीतालाई पनि हटाएको छैन ।

लवस्ता टोलका केही महिला गीताले काम नगरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय पुगेपछि कार्यालयले केही नबुझी पत्र दिएको बताइन्छ ।

यद्यपि विसं २०७० फागनु २६ गते कार्यालयले लेखेको पत्र चलानी नम्बर ७६ नम्बरको पत्रमा स्वयम्सेविका शान्ता चौधरीको पक्षमा ३२ जना र गीता चौधरीको पक्षमा २२ जना भएकाले बहुमतको आधारमा काम गर्न भन्दै शान्तालाई निर्देशन दिइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले करिव आठ वर्षदेखि काम गर्दै आएकी गीतामाथि कुनै छानबिन नै नगरी एक पक्षीय रुपमा नियुक्ति दिनु गलत भएको स्थानीयवासीको भनाइ छ ।

यस विषयमा स्वास्थ्य चौकी प्रमुख जीवराज आचार्यले गीतामाथि दोष लगाउने कुनै ठाउँ नभएको बताए । यसबारे जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख टङ्कप्रसाद चापागाईंले भने कुनै प्रतिक्रिया दिएका छैनन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us