नेकपा–माओवादीको विस्तारित बैठक सुरु

काठमाण्डु टुडे २०७१ असार २८ गते ३:२२ मा प्रकाशित

cpn_maoist
काठमाण्डु, २८ असार– नेकपा–माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक शनिबारदेखि राजधानीमा सुरु भएको छ ।
बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु बैठकको पहिलो दिन अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठकद्वारा पारित राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

केन्द्रीय समिति बैठककै निरन्तरता स्वरुप सुरु विस्तारित बैठकमा पूर्ण, वैल्पिक र केन्द्रीय सल्लाहकार समिति सदस्य सहभागी थिए ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्यको प्रस्तावमा असहमति जनाउँदै फरक प्रस्ताव अघि सारेका सचिव नेत्रविक्रम चन्दले विस्तारित बैठकमा भने छुट्टै प्रस्ताव ल्याएनन् ।

चन्दले राज्य सत्ताको चरित्रमा कुनै फेरबदल नभएको भन्दै त्यसलाई फेर्न जनयुद्धको निरन्तरतास्वरुप सशस्त्र क्रान्तिको आवश्यकतामा जोड दिएका छन् ।

जनयुद्धको निरन्तरतामा जनविद्रोहमा जानुपर्ने उनको अडान छ । जनयुद्धकालका जनसत्ता र जनअदालतजस्ता संरचना ब्युँताउनुपर्ने चन्दको विचार छ ।

वैद्यले भने एकीकृत माओवादीसहित मुद्धा मिल्ने दलसँग मोर्चा बनाएर तत्कालका लागि शान्तिपूर्ण रुपमा कार्यक्रम मार्फत नै आफ्ना मुद्धा स्थापित गरिनुपर्ने उल्लेख गरेका छन् । वैद्यले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा प्रस्ताव गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us